दुर्गा प्रसाईंलाई असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न आग्रह

22

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईंलाई आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न आग्रह गरेकी छन्।

मंगलबार बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरिन्।

मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै उनले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारे।

‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ ,’ उनले भनिन् ‘सबै खालका संशयलाई चिर्दै मुलुक पूर्णरुपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौँ।’

प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिएकी छन्।

‘हामी पनि न्यायका पक्षधर हौँ ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँ सत्ताभोग र सुखसयल गर्न आएका होइनौँ। भ्रष्टाचारको अन्त्य, शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ। सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशीला तयार पार्दै गएका छौँ। तपाईँले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ। अझै थप छलफल गर्दै जाऔँला।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here