युट्युबमा ‘एआई स्लप’ देखाउने गरेको एक अनुसन्धान

14

काठमाडौं । युट्युबको एल्गोरिदमले नयाँ प्रयोगकर्तालाई २० प्रतिशतभन्दा बढी ‘एआई स्लप’ देखाउने गरेको एक अनुसन्धानले देखाएको छ ।

भिडियो ‘इडिटिङ’ कम्पनी ‘क्यापविङ’ले गरेको अनुसन्धानले नयाँ प्रयोगकर्तालाई देखाइने भिडियोमध्ये २१.३३ प्रतिशत भिडियो ‘एआई स्लप’ रहेको पाइएको हो । (एआई ‘स्लप’ भन्नाले स्वचालित कम्प्युटर एप्लिकेसन प्रयोग गरेर लापर्बाहीपूर्वक बनाइएका निम्न गुणस्तरका सामग्रीलाई बुझिन्छ । यस्ता सामग्री भ्यु र सब्सक्राइबर बढाउन र धारणा प्रभावित गर्न बनाइन्छ।)

यस अनुसन्धानका लागि ‘क्यापविङ’ले विश्वभरका १५ हजार लोकप्रिय युट्युब च्यानलको सर्वेक्षण गरेको छ । अनुसन्धानअनुसार ‘एआई स्लप’ च्यानलले मात्रै ६३ बिलियन भ्यूज ओगटेको छ । जसका २२१ लाख सब्सक्राइबर छन् । यी च्यानलले वार्षिक करिब ११७ मिलियन अमेरिकन डलर (१६ अर्बभन्दा बढी नेपाली रुपैँया) बराबरको आम्दानी गरिरहेका छन् ।

क्यापविङले यो अनुसन्धानका लागि आफैंले नयाँ ‘युट्युब अकाउन्ट’ (युजर अकाउन्ट) बनाएर परीक्षण गरेको थियो । नयाँ अकाउन्टको फिडमा देखाइएकफ पहिलो ५०० भिडियोमध्ये १०४ वटा ‘एआई स्लप’ रहेको क्यापविङले जनाएको छ । ५०० भिडियोमध्ये एक तिहाइ (३३ प्रतिशत) ‘ब्रेनरोट’ श्रेणीका थिए । (‘ब्रेनरोट’ भन्नाले बाध्यकारी, अर्थहीन, निम्न गुणस्तरका भिडियो सामग्रीलाई बुझिन्छ, जसले दर्शकको मानसिक वा बौद्धिक अवस्थालाई हानि पुर्‍याउँछ। यस्ता भिडियो प्रायः एआई प्रयोग गरेर बनाइन्छन्।)

क्यापविङका अनुसार यी च्यानलहरू विश्वभर छरिएका छन् र विश्वव्यापी रूपमा हेरिएका छन् । यिनका लाखौं सब्सक्राइबर छन् । स्पेनमा मात्रै २ करोड मानिस, अर्थात् देशको करिब आधा जनसंख्याले ट्रेन्डिङ एआई च्यानललाई फलो गरेका छन् । त्यस्तै इजिप्टमा १ करोड ८० लाख, अमेरिकामा १ करोड ४५ लाख र ब्राजिलमा १ करोड ३५ लाख फलोअर छन् ।

अध्ययनमा सबैभन्दा बढी हेरिएको च्यानल भारतमा छ । जुन ‘बन्दर अपना दोस्त‘ नामबाट सञ्चालित छ । उक्त च्यानमा हालसम्म २.४ बिलियन (२ अर्ब ४० करोड) भ्यू छ। जसमा बाँदरको रूपमा चित्रित पात्र र ‘इन्क्रेडिबल हल्क’ जस्तै हुलियाको साहसिक कथाहरू देखाइन्छ । जसले राक्षसहरूसँग लड्छन् र टमाटरबाट बनेको हेलिकप्टरमा यात्रा गर्छन् । क्यापविङको अनुमानअनुसार यो च्यानलले वार्षिक ४.२५ मिलियन अमेरिकी डलर कमाइ गरेका छन् ।

यता सिंगापुरमा आधारित ‘पाउटी फ्रेन्ची‘को २ बिलियन (२ अर्ब) भ्यू छ । जसले बालबालिकालाई लक्षित गरेको देखिन्छ। यसमा फ्रेन्च बुलडगका साहसिक कथाहरू छन् । जहाँ क्यान्डी जंगलमा गाडी चलाउने, क्रिस्टल सुसी खाने खालका भिडियोहरू बनाइएको छ । जसमध्ये धेरैमा बालबालिकाको हाँसोको ब्याकग्राउन्ड म्युजिक छन् । क्यापविङको अनुमानअनुसार यसले वार्षिक करिब ४ मिलियन अमेरिकी डलर कमाइरहेको छ ।

यस्तै अमेरिकामा आधारित ‘कुएन्टोस फासिनान्टेस’ले पनि कार्टुन कथाहरूबाट बालबालिकालाई लक्षित गरेको देखिन्छ र यसका ६.६५ मिलियन सब्सक्राइबर छन् । अध्ययनअनुसार यो नै सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल हो ।

पाकिस्तानमा आधारित ‘द एआई वर्ल्ड‘मा पाकिस्तानमा विनाशकारी बाढीका एआईबाट बनाइएका सर्ट भिडियो देखाइन्छ । जसको शीर्षकमा ‘पुअर पिपुल, पुअर फ्यामली एण्ड फ्लड किचन’ (गरिब मानिस, गरिब परिवार र बाढी भान्सा) राखिन्छ। यी धेरै भिडियोमा ‘रिल्याक्सिङ रेन, थन्डर एन्ड लाइटनिङ एम्बियन्स फर स्लिप’ नामक ब्याकग्राउन्ड साउन्ड प्रयोग गरिएका छन् । यो च्यानलको करिब १.३ बिलियन भ्युअरसिप छ ।

क्यपविङका अनुसार एआई स्लपको प्रयोग युट्युबमा मात्रै छैन । यो एक्सदेखि मेटासम्मका सामाजिक सञ्जालहरूमा पनि देखिन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here