काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
क्यानले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली छानिएको हो । रुबी पोदार, सना प्रविन, इश्वरी विष्ट, सोनी पाख्रिन र लक्ष्मी साउदले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।
यसअघि एसिया छनोट खेलेका रुबि पोदार, सबनम राई र इश्वरी विष्ट भने ग्लोबल छनोट खेल्ने टिममा छैनन् ।
महिला टी२० विश्वकप ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष चार टोलीले इंग्ल्याण्डमा हुने महिला टी२० विश्वकपमा स्थान बनाउनेछ । नेपालसँगै थाइल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स र जिम्बाव्वे समूह बी मा छन् । यस्तै बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका समूह ए मा छन् ।
समूह चरणको खेलपछि शीर्ष ३-३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको खेलपछि शीर्ष चारमा रहने टोलीले विश्वकप खेल्नेछ । नेपाली टोली: इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी, मनीषा उपाध्याय रहेका छन् ।


















