विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै “सुकुन्दा” आठौँ अंक प्रकाशनको तयारी

34

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा आधारित सुकुन्दा साहित्य पालाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नेपालभाषा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रमसहित आफ्नो पत्रिका “सुकुन्दा” को आठौँ अंक प्रकाशनको तयारी गरेको छ।

ने.सं. ११०१ मा रत्न राज्य क्याम्पसमा स्थापना भएको सुकुन्दा साहित्य पाला स्थापना कालदेखि नै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि समयानुकूल विविध साहित्यिक, शैक्षिक तथा भाषिक गतिविधि सञ्चालन गर्दै आएको संगठन हो। विशेषतः मातृभाषा संरक्षण र प्रवर्द्धनको क्षेत्रमा यस संस्थाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ।

मातृभाषा अभियन्ता रिदेन महर्जन र प्रशान्त डंगोल समूहकाे निस्वार्थ सक्रिय पहलमा रत्न राज्यलक्ष्मी क्याम्पसमा २०७३ सालदेखि स्नातक तहमा नेपालभाषा पुनः अध्यापन अभियान सुरु गरिएको थियो। लामो प्रयासपछि २०७४ साल चैत १४ गते क्याम्पस प्रशासनबाट औपचारिक स्वीकृति प्राप्त भएको थियो।

रत्न राज्यलक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियनको विशेष सक्रियतामा  २०७७ साल मंसिरकाे अन्तिम महिनामा सुकुन्दा साहित्य पाला पुनर्गठन भई अभियन्ता प्रशान्त डंगोल अध्यक्षमा चयन भएका थिए।

नेपालभाषा शिक्षालाई अझ उच्च तहसम्म पुर्‍याउने उद्देश्यका साथ २०७६ सालमा नेपालभाषा स्नातकोत्तर तह सञ्चालनका लागि अभियान सुरु गरिएको थियो। यही अभियानको परिणामस्वरूप २०७८ साल कार्तिक २६ गते तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उदार सोच, मन–वचन–कर्मको सम्र्पणका कारण रत्न राज्य लक्ष्मी क्याम्पसमा ऐतिहासिक रूपमा नेपालभाषा स्नातकोत्तर तहको शुभारम्भ भयो।

सुकुन्दा साहित्य पालाले २०८० सालमा “सुकुन्दा” को सातौँ अंक प्रकाशन गरिसकेको छ भने हाल आठौँ अंक प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।  आगामी आठौँ अंक प्रकाशनको अवसरमा सुकुन्दा साहित्य पालाले नेपालभाषा अध्ययनरत विद्यार्थीहरू, सेपाक्ताक्रो अन्तर्राष्ट्रिय खेलाडी, खो–खो राष्ट्रिय प्रशिक्षक, साथै नेपालभाषा विषयमा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ।

यसका अलवा सुकुन्दा साहित्य पालाले सुकुन्दा साहित्य पाःलाःको सचिव रिदेन महर्जनको संयोजकत्वमा सांगितिक, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमसहित नेपाल भाषाका महान् हस्तीहरू कवि केशरी चित्तधर हृदयको १ सय ५ औं जन्मजयन्ती, शताब्दी पुरूष सत्य मोहन जोशीको  १ सय ५ औँ जन्मजयन्तीकासाथै तथा प्रजातन्त्र सेनानी प्रेमबहादुर कंसाकारको १ सय ६ औं जन्म जयन्तीका साथैं नेपालभाषाका महाकवि गिरिजा प्रसाद जोशीको  तीनबर्ष देखि जन्म जयन्ती मनाउन समेत निरन्तरता दिदै आइरहेको छ ।

सुकुन्दा साहित्य पाला मातृभाषा नेपालभाषाको अध्ययन, अनुसन्धान, साहित्यिक सिर्जना र शैक्षिक उन्नयनमा निरन्तर क्रियाशील रहँदै आइरहेकाे संस्था भएको आयोजकले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here