प्रधानमन्त्रीलाई मानार्थ पिएचडी ‘बुर्जुवा प्रमाणपत्र’को मोह किन ?

204

 -निमकान्त पाण्डे

सामान्यतः कम्युनिस्टहरूले बुर्जुवा शिक्षाको विरोध गर्छन् । नेपालकै सन्दर्भमा कुरा गर्दा पनि जबदेखि कम्युनिस्टहरूका गतिविधि नेपालमा सुरु भए, उनीहरूले राज्यले प्रदान गर्दै आएको शिक्षाको विरोध गर्दै माक्र्सवादी र जनवादी शिक्षालाई प्राथमिकता दिँदै आएका हुन् । त्यो लहर वर्तमान प्रधानमन्त्री केपी ओलीदेखि उनकै दलका अर्का अध्यक्ष पुष्पकमल दाहालसम्म आइपुग्यो । बुर्जुवा र परम्परागत शिक्षाको विरोध गर्ने नाममा कम्युनिस्टहरूले संस्कृत शिक्षालाई समेत पाठ्यक्रमबाट हटाइदिए । कतिसम्म भने परम्परागत र बुर्जुवा शिक्षाबाट मुलुकको परिवर्तन सम्भव नभएको भन्दै विद्यालय बन्द गराउनेदेखि जनताका छोराछोरीलाई जबरजस्ती शिक्षा लिनबाट बञ्चित गराउने काम समेत कम्युनिस्ट नेताहरूबाट भयो ।

एक थरी थिए राणाहरू जनताका छोराछोरीलाई शिक्षा दिनु हुँदैन भनेर लामो समयदेखि नेपाली जनतालाई शिक्षा लिने अधिकारबाट बन्चित गरेको आरोप लगाउने गर्थे । राणाहरूको गलत नीतिबाट त जनताले मुक्ति पाए तर जनताकै अधिकारका लागि लड्छौँ भन्ने कम्युनिस्टहरू अर्काे राणा बनेर निस्किए र विद्यालय बन्द गराउने, विद्यार्थीहरूलाई शिक्षा लिनबाट बन्चित गर्ने जस्ता गतिविधि जारी राखे । अहिले उनै कम्युनिस्टहरूमा छोरोछोरीलाई बुर्जुवा शिक्षा पढाउने र अनौपचारिक वा मानार्थ शिक्षा प्राप्त गर्ने प्रतिस्पर्धा चलिरहेको छ ।

प्रधानमन्त्री ओलीले हालैमात्र दक्षिण कोरियाको एक इशाई धर्म प्रचारक विश्वविद्यालयबाट मानार्थ पिएचडीको प्रमाणपत्र लिएपछि उनको यो कार्यको चर्काे आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले मानार्थ डाक्टरको उपाधि लिएको यो पहिलो पटक नभएकाले ओलीले यसमा मोह देखाउन आवश्यक थिएन । हालसम्म उनले चारवटा मानार्थ पिएचडी प्राप्त गरिसकेका छन् । उनलाई मानार्थ पिएचडीप्रतिकै मोह भएपनि एउटा लिइसकेको अवस्थामा कस्ता संस्थाले आफूलाई सम्मान गर्दैछ भन्ने कुरामा सचेत हुनुपथ्र्याे ।

हालै उनले लिएको मानार्थ पिएचडीको सम्बन्ध नेपालमा एशिया प्यासिफिक सम्मेलनका नाममा होलिवाइनको प्रचार गर्ने संस्थासँग रहेको छ । जबकी होलीवाइनकै कारण प्रधानमन्त्री ओलीको आलोचना व्यापक भइसकेको छ । यस्तो अवस्थामा पनि ओलीको होली वाइनप्रतिको लगावलाई लिएर उनी आलोचनाको पात्र बनिरहेका छन् ।

आफ्नो प्रचार गर्न चाहने संस्थाले अवस्य पनि आफ्नो फाइदाका लागि सत्तामा रहेको व्यक्तिलाई प्रभावमा पार्न खोजिहाल्छ । ओलीलाई निरन्तर चारवटा मानार्थ पिएचडीको उपाधि पनि ओलीको योग्यताको हिसाबले भन्दा पनि उनी जुन ठाउँमा वा जुन पदमा आसिन छन्, त्यसै कारण उनलाई यस्ता किसिमका मानार्थ डाक्टरका प्रमाणपत्र दिइएको हो । जबकी उनले प्राप्त गर्ने यस्ता मानार्थ प्रमाणपत्रको कुनै ठूलो महत्व हुँदैन, किनभने त्यस्ता मानार्थ सम्मान उनको विज्ञतालाई सम्बोधन गरेर नभई उनले प्राप्त गरेको पद र पोजिसनलाई ध्यानमा राखेर दिइएको हो । शक्ति र सत्तामा हुनेलाई आफ्नो प्रभावमा पार्न नेपालमा मात्र नभइ जहाँ कहीँ पनि यस्ता अभ्यासको प्रयास गरिन्छ । तथापि पदमा हुने व्यक्तिले त्यस्ता मानार्थ सम्मान लिँदा आफ्नो गरिमामा कस्तो प्रभाव वा असर पर्छ भन्ने कुरामा ध्यान दिन आवश्यक हुन्छ ।

नेपालमै पनि एउटा अनौठो प्रचलन छ । जुन व्यक्ति सत्ता र शक्तिको वरिपरि घुम्ने गर्छ, उसले पत्रकारितामा खासै ठूलो योगदान नदिएपनि वरिष्ठ पत्रकारको उपाधि पाउँछ, तर एउटा व्यक्ति जसले पत्रकारितामै आफ्नो जीवन व्यतित गर्छ र पत्रकारिताकै माध्यमबाट समाज र मुलुकलाई सकारात्मक बाटोमा हिड्न प्रेरित गरिरन्छ, ऊ कहिले पनि सत्ताका तर्फबाट ‘वरिष्ठ’ बन्न सक्दैन । प्रधानमन्त्री ओलीले प्राप्त गरेका सम्मान पनि नेपालमा वरिष्ठ पत्रकारले पाएका उपाधिजस्तै हुन्, जुन प्रधानमन्त्री ओलीको क्षमताका लागि नभई उनी सत्ता र शक्तिमा भएकै कारण प्राप्त गरेका हुन् ।

हो, शिक्षा सबैका लागि महत्वपूर्ण हुन्छ, त्यो चाहे औपचारिक होस वा अनौपचारिक, तर जब शिक्षालाई एउटा प्रचारको माध्यम बनाइन्छ, त्यसको प्रभाव र अर्थ पनि कम हुँदै जान्छ । प्रधानमन्त्री ओलीको अनौपचारिक शिक्षा राम्रो छ, उनी धेरै विषयमा जानकारी राख्छन् तर उनको त्यो ज्ञानको भण्डारलाई उनले प्राप्त गर्ने मानार्थ डिग्रिले समेट्न सक्दैन, बरु उनको मानार्थ डीग्रि पाउने महत्वकांक्षाले उनलाई आलोचनाको पात्र बनाउँछ र बनाउँदै पनि लगेको छ । उनी आफै पनि बुर्जुवा शिक्षाको विरोधी भएको नाताले अहिले त्यही बुर्जुवा शिक्षाका अनौपचारिक सम्मान प्राप्त गर्ने उनको भोकले उनको मात्र नभएर समग्र कम्युनिस्ट चरित्रमाथि नै व्यंग्य गरिरहेको छ र समग्र नेपालकै अपमान भइरहेको छ । यस्ता विषयमा प्रधानमन्त्री ओलीले जति मोह राख्दै जान्छन्, त्यसले उनको महत्वलाई नै घटाउँदै लैजाने छ । एउटा कम्युनिस्ट राजनीतिको पृष्ठभूमिबाट आएका प्रधानमन्त्री ओली र अन्य कम्युनिस्ट नेताहरूले समेत यस्ता विषयमा सचेत हुन आवश्यक छ ।- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here