देशले आवश्यक ठानेको व्यक्तिलाई निर्वाचनमा सघाउने

14

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उनले आफू निरन्तर जनताको सेवामा लागिरहने जनाएका हुन् ।

‘आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भनेका छन्, ‘प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको उनको धारणा छ ।

‘मसँग विभिन्न दलका व्यक्तित्वले सल्लाह सुझाव के दिनुभयो भने तपाईंहरूजस्तो व्यक्तिले साझा व्यक्तिको रुपमा रहनुपर्छ । देशको जुन अहिले तरल अवस्था छ  त्यसले निश्चित आकार ग्रहण गरेको छैन,’ बाबुरामले थप प्रष्ट पार्दै भने, ‘तपाईंले चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा सल्लाह सुझाव दिएर अघि बढ्दा हुन्छ भन्ने साथीहरू, दलको पनि आयो ।’

सबैको आग्रह बमोजिम आफू बाहिरै रहेर अभिभावकीय भूमिकामा रहँदा राम्रो हुने उनको धारणा छ ।

‘मैले जीवनभरिको जुन अभिष्ट हो, संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्था हो । चुनौती थपिएका छन्, तीनको व्यवस्थापन गर्नुछ,’ उनले भनेका छन्, ‘मुख्य रुपमा देशमा तीव्र आर्थिक विकास र समृद्धिको आधारको रुपमा अघि बढ्नुछ । मैले सबैको आग्रह बमोजिम बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक पर्ने देशको अभिभावकीय भूमिका निर्वाह गर्नु ठिक हुन्छ भनेर फिर्ता लिने निर्णय गरेको छु ।’

उनलाई उम्मेदवारी फिर्ताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आग्रह गरेको थियो ।

रास्वपाले यो क्षेत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी मैदानमा उतारेको छ । बुर्लाकोटी यही क्षेत्रबाट यसअघिको निर्वाचनमा पनि सहभागी भएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँ पराजित भएका थिए ।

यसपटक प्रचण्डले भने निर्वाचन क्षेत्र फेरेका छन् ।

स्रोतका अनुसार, प्रचण्डले पनि बाबुरामलाई फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट यो क्षेत्रमा लेखनाथ न्यौपाने उम्मेदवार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here