✍️एन बी अन्जान, पोर्चुगल
देशको छातीमा
कालो तुल टाँगिएको छ,
त्यसको छायाँमा
मान्छे होइन
मूल्य टाँसिएका
लाशहरू उभिएका छन्।
रगत यहाँ
मुद्रामा बग्छ,
शिरामा होइन
बजारमा(
माग र आपूर्तिको नियममा।
नेताहरू
लाशमाथि पाइला टेकेर
सिंहासन चढ्छन्,
प्रत्येक शव
एक सिँढी हो
सत्तासम्म पुग्ने ।
जन्ताका
आँसु बोतलमा भरिन्छ,
हेडलाइनको नुन हालेर
चाखिन्छ(
“आजको स्वाद कति पीडादायक छरु”
मिडियाले
क्यामेराले होइन
चक्कुले हेर्छ,
शवको छाला फुकालेर
समाचारको कोट सिउँछ।
शवगृहमा
शान्ति सुतिरहेको छ,
तर सत्ता, संसद र सरकारमा
लाश चिच्याइरहेछ
“मलाई अझै बेच१”
हामी देशका
जिउँदा लाशहरू,
हातमा मोबाइल,
आँखामा उदासीनता
स्क्रोल गर्दै
आफ्नै अन्त्यको
मूल्य हेरिरहेका छौं,
आफ्नै अन्त्यको
मूल्य पर्खिरहेका छौं।


















