काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट निवेदनमा सर्वोच्चमा बहस सकिएको छ ।
महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र सच्याउने निर्णय गरेको थियो ।
सो निणर्य विरुद्ध परेको रिटमा चैत १ गते देखि जारी बहस आज सकिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, टिकाराम भट्टराई, अधिवक्ता आयुष बडाल र युवराज पौडेल सफलले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर गर्न माग गरिएको थियो ।
यो मुद्दाको सुनुवाई न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र सारंगा सुबेदीको इजलासमा नियमित सुनुवाई भइरहेको छ । रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त,अधिवक्ता डा. नारायणदत्त कँडेल लगायतले बहस गरेका थिए । मुद्दाको अन्तिमको फैसला आजै आउने सम्भावना देखिएको छ ।


















