काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गरेको छ।
हालको १६ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला मन्त्रीहरू नियुक्त भएका छन्। यससँगै सरकारमा महिला सहभागिता ३७.५ प्रतिशत अर्थात् झन्डै ४० प्रतिशत पुगेको छ, जसलाई राज्यको नीति निर्माण तहमा महिला सशक्तीकरणको एउटा बलियो उदाहरण मानिएको छ।
यस मन्त्रिपरिषद्मा सोविता गौतमले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् भने गीता चौधरीलाई कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रीको कार्यभार दिइएको छ।
त्यसैगरी, सीता वादीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व गरेकी छन्। स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी निशा मेहतालाई सुम्पिएको छ।
मन्त्रिपरिषद्का अन्य महिला सदस्यहरूमा प्रतिभा रावल हुनुहुन्छ, जसले संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हालेकी छन्।
पछिल्लो पटक शुक्रबार प्रधानमन्त्री शाहको सिफारिसमा गौरीकुमारी यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएपछि महिला मन्त्रीको सङ्ख्या ६ पुगेको हो।
गत चैत १३ गते सरकार गठन हुँदा सुरुमा पाँच जना महिला मन्त्रीहरू नियुक्त भएका थिए।
यादवको नियुक्तिसँगै मन्त्रिपरिषद्ले थप पूर्णता पाउनुका साथै समावेशी स्वरूप अझै स्पष्ट देखिएको छ।


















