काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताले लहडमा भाषणमार्फत खारेज गर्न नसक्ने बताएको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टी सदस्यताबारे समूहको धारणा सार्वजनिक गरेका हुन् ।
पार्टीको सदस्यता कुनै नेताको हारजितसँग नभएर नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र र नगारिक स्वतन्त्रताको लडाइँ, योद्धाहरूको योगदान र सहादत प्राप्त गरेका शहीद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा भएको इतर समूहको जिकिर छ ।
पार्टीभित्र र बाहिर देखिएका विभिन्न उतारचढावका बाबजद संयम, धैर्य र अविचलित भएर विधानले निर्धारण गरेको र पार्टीले पहिल्यै निर्णय गरेको कार्यतालिका भित्र नै नवीकरण तथा नयाँ सदस्यता लिन चाहने तर छुटेकालाई समेत उचित अवसर दिएर १५ औं महाधिवेशन सम्पन्न गरिने खड्काको धारणा छ ।
विशेष महाधिवेशन अघि १५ माघमा कार्यवाहक सभापति खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख २८–३१ मा १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको थियो । तर, तोकिएको समयमा १५ औं महाधिवेशन हुन सकेन । तत्कालीन संस्थापन पक्ष प्रतिनिधिसभा निर्वाचनपछि र तत्कालीन महामन्त्री गगन थापा समूह निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्नेमा विभक्त थियो ।
थापा समूहले नियमित महाधिवेशनको सम्भावना नदेखिएपछि अन्ततः गत पुस अन्तिम साता विशेष महाधिवेशन आयोजना गर्यो । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमिति भंग गरेर थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्यो ।
प्रतिनिधिसभा निर्वाचनपछि सभापति थापाले बैठकले बुधबार मात्रै अर्को वर्षको १६–१९ असोजमा पार्टीको १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । संस्थापनइतर समूहले उक्त तालिकाप्रति पनि आपत्ति जनाएको छ । उता १८ चैतमा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
त्यसअघि खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गरेका थिए । त्यसपछि उनले १७ चैतमा कार्यवाहक सभापतिको हैसियतमै १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफल गरेका थिए ।


















