विश्वविद्यालय र उपकुलपतिहरूसँग छलफल

19

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका छन्। अपराह्रन १२ बजदेखि ३ बजेसम्म प्रधानमन्त्री कार्यालय सिंहदरबार बसेको बैठकमा सहभागी उपकुलपतिहरूले आआफ्नो विश्वविद्यालय र प्रतिष्ठानका समस्याहरू प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

बैठकमा प्रधानमन्त्री शाहले धैर्यपूर्वक उपकुलपतिहरूका कुरा सुनेको बैठकमा सहभागी एक उपकुलपतिले बताए। ‘सबै उपकुलपतिज्यूहरूले आ–आफ्नो विश्वविद्यलायबारे प्रधानमन्त्रीसमक्ष प्रस्तुति राख्नुभयो, विगतका काम, वर्तमानको अवस्था, भविष्यको योजना र समस्याबारे प्रधानमन्त्रीज्यूलाई सुनाउनुभयो,’ ती उपकुलपतिले भने, ‘हाम्रा कुरा धेरै सुनेर उहाँले छोटोमा आफ्ना कुरा राख्नुभयो, करिब पाँच मिनेटमा आफ्ना कुरा राखेर बैठक सकाउनुभयो।’

प्रधानमन्त्री शाहले विश्वविद्यालय र प्रतिष्ठानहरूका समस्या समाधानको लागि आफूले सहयोग गर्ने जनाउँदै नियमपूर्वक काम गर्न पनि उपकुलपतिहरूसमक्ष अनुरोध गरे।

‘तपाईंहरू आआफ्नो भूमिकामा नियमपूर्वक काम गर्नुहोला, समस्या परेमा मकहाँ आउनुहोला, सबै विश्वविद्यालयहरू नियमपूर्वक चल्नुपर्छ,’ बैठकमा प्रधानमन्त्री शाहले भनेका थिए, ‘कतिपय विश्वविद्यालयका नीति नयाँ बनाउनुपर्नेछ, कतिका भवन र संरचना व्यवस्थित बनाउनुपर्नेछ, त्यसमा सरकारले ध्यान दिएर काम गर्नेछ।’

बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, खुला विश्वविद्यालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलगायतका कुलपतिहरू सहभागी थिए। प्रधानमन्त्री शाहले प्रधानमन्त्री कुलपति हुने नियम भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूलाई बैठकमा बोलाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here