काठमाडौं । सरकारले काठमाडौंको थापाथली-गैरीगाउँ-सिनामंगल लगायत क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ । आइतबार यी बस्तीहरू खाली गराइएको हो । मनोहरा क्षेत्रका सुकुमवासी बस्ती हटाउने क्रम अहिले जारी छ ।
यी क्षेत्रबाट हटाइएका सुकुमवासीहरूलाई सरकारले कीर्तिपुर लगायतका क्षेत्रमा अस्थायी रूपमा व्यवस्थापन गरेको छ । बस्ती छाडेर सम्पर्कमा आएकाहरूलाई सरकारले ‘स्क्रिनिङ’ प्रक्रियामा सामेल गरी अस्थायी सेल्टरमा लगेर व्यवस्थापन गरेको हो ।
स्क्रिनिङका लागि भूमि सुधार र सहरी विकास मन्त्रालय तथा काठमाडौं महानगरपालिकाको टोली खटिएका थिए । टोलीले उनीहरूको व्यक्तिगत विवरण, पारिवारिक विवरण र सामानको विवरण लिएको थियो ।
सम्पर्कमा आएकाहरूलाई सरकारले कीर्तिपुर सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा लगेर राखेको छ ।
यसबाहेक उपत्यकाका विभिन्न ठाउँबाट विस्थापित हुने सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र र ललितपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने व्यवस्था सरकारले मिलाएको छ ।
अस्थायी सेल्टरमा बसेका सुकुमवासीहरूलाई काठमाडौं महानगरपालिकाले खानाको व्यवस्था समेत गरेको छ । महानगरले उनीहरूलाई प्याकेटको खाना व्यवस्था गरेको छ । शनिबार साँझ र आज बिहानका लागि बाहिरबाट ल्याइएको प्याकेटको खाना खुवाइएको छ ।
अस्थायी सेल्टरमा बसेका सुकुमवासीहरूलाई आइतबार बिहान चिया र बिस्कुटको व्यवस्था गरिएको थियो । तर केहीले त्यो पनि खान नपाएको भन्दै गुनासो गरेका छन् । मध्यान्ह १२ बजे खाना आएपछि लाइन लगाएर खानाको प्याकेट वितरण गरिएको थियो ।
वर्षौंदेखि बस्दै आएको बस्ती छाड्नुपरेको पीडा बोकेका उनीहरूले एक प्यकेट खानाले पेट नभरिने भन्दै आक्रोश पोखेका थिए । महानगरले उपलब्ध गराएको एक प्याकेट खानाले पेट नभरिने भन्दै उनीहरूले चित्त दुःखाएका थिए ।


















