ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आइपुग्दै

7

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज साँझ काठमाडौं आइपुग्दैछन्।

बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन्। ३९ वर्षीय गोर दक्षिण तथा मध्य एसियाका लागि ट्रम्पका विशेष दूत हुनुका साथै भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारीमा समेत रहेका छन्। ट्रम्पका निकै निकट मानिने उनी पहिलोपटक नेपाल आउन लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार गोरको यो भ्रमण विशेषगरी दुई देशबीचको व्यवसाय, लगानी र सरकार-सरकारबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहनेछ। उनको हैसियत हालै नेपाल भ्रमण गरेर फर्किएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरको भन्दा उच्च मानिएको छ। नेपालमा रहँदा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग द्विपक्षीय हितका विषयमा औपचारिक वार्ता गर्ने तय भइसकेको छ।

यद्यपि, अमेरिकी विशेष दूतले प्रधानमन्त्री बालेन शाहसँग भेट्ने विषय भने अझै अनिश्चित छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालका अनुसार प्रधानमन्त्री हाल सुशासन र आन्तरिक मामिलामा केन्द्रित रहेकाले भेटघाटको समय तय भइसकेको छैन।

यसअघि आएका सहायक विदेशमन्त्री कपुरले पनि प्रधानमन्त्रीसँग भेट्न पाएका थिएनन्। बालेन नेतृत्वको सरकार आएपछि विदेशी कूटनीतिज्ञहरूले सिधै प्रधानमन्त्रीलाई भेट्ने पुरानो शैलीमा परिवर्तन देखिन थालेको छ।

यदि प्रधानमन्त्रीसँग समय नजुरेपछि गोरले अन्य वरिष्ठ मन्त्रीहरू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग छलफल गरेर फर्किने बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here