काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय संयोजन समितिको २६ दिनमा मङ्गलबार सम्पन्न भएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकले १९ बुँदे समसामयिक प्रस्ताव पारित गरी सकिएको हो । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अनपेक्षित हार बेहोरेपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले चैत १९ गते संयोजन समितिको बैठक बोलाएका थिए ।
भीम रावल आएनन्
वरीयतामा असन्तुष्ट देखिएका नेता भीम रावल बैठकमा नै अनुपस्थित भए । बैठकको पहिलो दिन तीन/चार मिनेटको मौखिक धारणा राखेर बाहिरिएका उनी त्यसपछिको कुनै बैठकमा पनि सहभागी नभएको अर्का एक नेताले बताए । ती नेताका अनुसार रावलले छैटौँ वरीयता दाबी गरेका थिए, तर उनको प्रस्ताव पार्टी एकताकै बेला अस्वीकृत भएपछि बैठक नै बहिस्कार गरेका हुन् ।
‘राजेन्द्रप्रसाद श्रेष्ठ, महिन्द्र राय यादवलयागत एमालेको पाँचौँ/छैटौँ महाधिवेशनमा केन्द्रीय नेताहरू छन् । साविक माओवादीबाट उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुनलगायत नेताहरू पनि छन् । भीम रावलजीले छैटौँ वरीयता दाबी गर्नुभएको थियो, त्यो सुरुमै अस्वीकृत भयो । त्यसपछि उहाँ बैठकमा आउनुभएकै छैन,’ ती नेताले भने ।
वरीयता नमिलेको झोकमा रावलले सुदूरपश्चिमको इन्चार्ज बन्न अनिच्छा देखाएको बताइएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफूसँग कुनै परामर्श नगरी तोकिएको जिम्मेवारी नबस्ने बताएका छन् । आफूले पाएको जिम्मेवारी युवालाई दिन नेतृत्वलाई सुझाव दिएका छन् । रावलले लेखेका छन्, ‘सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मेवारी दिइँदा सुदूरपश्चिम प्रदेशमा मात्र बुढा पुस्तालाई जिम्मेवारी दिइनु अलि मिलेन । त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’
प्रदेशको इन्चार्जसहित महत्त्वपूर्ण विभागको जिम्मेवारी एमाले/एकीकृत समाजवादी पृष्ठभूमिबाट आएकाले पाएपछि साविक माओवादीभित्र असन्तुष्टि बढेको छ । संयोजन समिति बैठकमै कम्तीमा ६० प्रतिशत युवा सहभागी गराउनुपर्ने माग राखेका तेस्रो पुस्ताका नेताहरूले तीव्र असन्तुष्टि पाखेका छन् ।
नेकपाका अर्का नेताका अनुसार वामपन्थी आन्दोलन संकटमा परेका बेला पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने भएकाले कार्य विभाजनलाई लिएर असन्तुष्टि जनाउन नहुने बताए । ‘वामपन्थी आन्दोलन नै संकटमा परेको बेला हामीले बढी उदारता देखाउनुपर्छ । पार्टी एकतामा आएका सबैलाई चित्त बुझाएर लैजानुपर्ने भएकाले सबैले सोचेको जस्तो नहुन सक्छ । काम गर्छौँ भनेका छन् । महाधिवेशनसम्म सबैको प्रस्तुति हेरौँ । चित्त बुझेन भने त्यतिबेलै बहस र छलफल गरौँला,’ ती नेताले भने ।
बैठकमा लुम्बिनी प्रदेशका इन्चार्ज रहेका चक्रपाणि खनालले अहिले भएका सबै संरचना विघटन गरी आयोजक समिति बनाउन सुझाव दिएका थिए ।
‘महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि अहिलेका सबै पार्टी संरचना विघटन गरी ३५१ सदस्यीय आयोजक समिति बनाएर जाऊँ, यस समितिमा कम्तीमा ५० प्रतिशत युवा समावेश गरौँ भनेर मैले सुझाव दिएको हुँ तर कार्यान्वयन भएन । ठिकै छ, महाधिवेशनमा जाने भनिएको छ, अब त्यसैले निर्णय गर्छ,’ उनले भने ।
यद्यपि प्रवक्ता तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले कार्य विभाजनमा कसैको पनि विरोध नभएको जिकिर गरेका छन् । ‘कार्य विभाजनमा अलिअलि विमति हुनु स्वाभाविक हो । तर बाहिर आएको जस्तो विवाद पार्टीभित्र छैन,’ उनले दाबी गरे ।
ज्वालाका अनुसार बैठकले विधान बमोजिम ६०१ केन्द्रीय कार्य समितिलाई पूर्णता दिने र यसअघि गठन भएको दुई हजार ४९९ सदस्यीय केन्द्रीय समिति रुजु गरी व्यवस्थित गरेर पठाउने जिम्मा कार्यदललाई दिने निर्णय भएको जानकारी दिए । बैठकले मंसिर ११ देखि १५ गतेसम्म एकता महाधिवेशन गर्ने र संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
यस्तो छ भूगोल र गैर भूगोलमा कार्य विभाजन
कोशी प्रदेश
इन्चार्ज राजेन्द्र राई, सहइन्चार्ज सावित्रिकुमार काफ्ले, परशुराम बस्नेत, संयोजक हर्कबहादुर नेम्बाङ, सहसंयोजक सरिता खड्का
मधेस प्रदेश
इन्चार्ज महिन्द्र राय यादव, सहइन्चार्ज मात्रिका यादव, रामकुमार भट्टराई, संयोजक राजु खड्का, सहसंयोजक सुधीर साह
बागमती प्रदेश
इन्चार्ज डा. गङ्गालाल तुलाधर, सहइन्चार्ज हितबहादुर तामाङ, लालबहादुर तामाङ, संयोजक सरलसहयात्री पौडेल, सहसंयोजक भीम दाहाल, बन्दना सुवेदी
गण्डकी प्रदेश
देवेन्द्र पौडेल इन्चार्ज, सहइन्चार्ज श्रीधर बराल, सहइन्चार्ज हरि अधिकारी, अमृता कोइराला, संयोजक कृष्ण नेपाली, गायत्री गुरुङ
लुम्बिनी प्रदेश
चक्रपाणि खनाल इन्चार्ज, सहइन्चार्ज मेटमणि चौधरी, संयोजक अब्दुल हुनेन खाँन, कृष्ण अधिकारी
कर्णाली प्रदेश
चन्द्र बहादुर शाही इन्चार्ज, सहइन्चार्ज टेकबहादुर बस्नेत, संयोजक विमला केसी, सहसंयोजक ठगेन्द्र प्रकाश पुरी
सुदूरपश्चिम प्रदेश
भीम रावल इन्चार्ज(टुङ्गिन बाँकी), सहइन्चार्ज भानुभक्त जोशी, खगराज भट्ट, रन्जिता श्रेष्ठ, संयोजक हरिराम चौधरी, लालबहादुर खड्का
उपत्यका विशेष प्रदेश
हितमान शाक्य इन्चार्ज, सहइन्चार्ज विश्वनाथ प्याकुरेल, संयोजक विष्णु लामिछाने, सहसंयोजक जगत सिंखडा
सम्पर्क विशेष प्रदेश
यशोदा सुवेदी इन्चार्ज, सहइन्चार्ज वीरबलकाजी राई, संयोजक तारानाथ दाहाल, सहसंयोजक श्रीकृष्ण अधिकारी
भारत प्रवास
शेरबहादुर कुँवर इन्चार्ज, सहइन्चार्ज ईश्वरीप्रसाद भण्डारी, संयोजक राजेन्द्र शर्मा, सहसंयोजक रामबहादुर डाँगी
पश्चिम एसिया प्रवास
इन्चार्ज डिबी क्षेत्री, सहइन्चार्ज द्रोण सिलवाल, संयोजक शनी कुमार ओली
पश्चिम युरोप प्रवास
इन्चार्ज श्रीराम ढकाल, सहइन्चार्ज सुरेन्द्र भुसाल, प्रवास पोखरेल

















