काभ्रेपलाञ्चोक । विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा रोकिएका यात्रुको राति उद्धार गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पाँच माइक्रोबसका ८९ यात्रुलाई गएराति नै सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएका हुन् । सोमबारको वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि काठमाडौँतर्फ आउँदै गरेका ती गाडीहरु रोकिएको जनाइएको छ ।
सुरक्षा निकायको तदारुकता तथा मेहनतका कारण रोकिएका यात्रुलाई रातको समयमा सकुशल उद्धार गर्न सकिएको काभे्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । उद्धारका लागि प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीलगायत सुरक्षा निकायका प्रमुखसमेत स्थलगत खटिएका थिए ।
बर्सातपछिको बाढीले रोशी क्षेत्रमा विपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सुरक्षा निकायले सोमबार साँझ ५ः०० बजेदेखि उक्त क्षेत्रमा आवागमन बन्द गराएको थियो । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ ।
दिउँसोको वर्षाका कारण विपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराइएको थियो । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडकखण्डमा आवागमन बन्द गराइएको हो ।
प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रुलाई अपिलसमेत गरिएको छ ।
बेमौसमी वर्षाका कारण पटकपटक रोशी खोलाको बाढीले विपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्ध नगररपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको थियो ।
गतसालको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।















