काठमाडौं । राइड हेलिङ प्लेटफर्म ‘उबर’ले नेपालमा आफ्नो सेवा विस्तार गर्ने तयारी स्वरूप सिस्टममा विवरण दर्ता गराएका प्रयोगकर्तालाई ईमेल पठाएको छ । कम्पनीको आधिकारिक ईमेल एड्रेस ([email protected]) मार्फत सन्देश पठाउँदै उबरले आफू काठमाडौँमा आइसकेको जानकारी गराएको हो ।
उक्त ईमेलमा “हेलो नेपाल, योर उबर ह्याज अराइभ्ड !” अर्थात् ‘हेलो नेपाल, तपाईंको उबर आइसकेको छ’ भनी लेखिएको छ ।
साथै, ईमेलमा ‘उबर इज नाउ लाइभ इन काठमाडौँ !’ (Uber is now live in Kathmandu!) लेख्दै काठमाडौँको स्वयम्भूनाथ मन्दिर झल्किने एआई तस्बिर समेत समावेश गरिएको छ । ईमेलमा प्रयोगकर्तालाई यात्रा सहज हुने आश्वासन दिँदै अगाडि लेखिएको छ, “अब यात्रा गर्न अझै सहज भएको छ । चाहे तपाईं काममा जाँदै हुनुहुन्छ, साथीहरूलाई भेट्दै हुनुहुन्छ वा बाहिर निस्कँदै हुनुहुन्छ, अब राइड केही मिनेटको दूरीमा मात्र छ ।”
नेपालका लागि एप कस्टमाइज
उबरको एपलाई कस्टमाइज गरेको देखिन्छ । एपको होमपेजमा नेपालको पहिचान झल्किने एआई निर्मित तस्बिर राखिएको छ ।

प्रयोगकर्ताले एप चलाउँदा म्याप तथा लोकेसन लगायतका फिचरले स्पष्ट रूपमा काम गरिरहेको देख्न सकिन्छ । यद्यपि, हाल परीक्षणकै क्रममा रहेकाले एपमार्फत सवारी (राइड) भने बुक गर्न सकिँदैन ।

यता, चालकको तर्फबाट भने एपले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र ब्लुबुक जस्ता कागजात लिन र स्वीकृत गर्न थालिसकेको छ । सिस्टमले कागजात स्वीकृत गरे पनि कम्पनीले चालकका लागि हालसम्म कुनै आधिकारिक सूचना वा निर्देशन भने पठाइसकेको छैन ।
हालसम्म उबरको आधिकारिक ग्लोबल वेबसाइटको सूचीमा नेपालको नाम समावेश छैन । सम्भवतः केही दिनपछि कम्पनीले नेपालमा आफ्नो व्यावसायिक सेवाबारे सार्वजनिक रूपमा जानकारी दिनसक्ने अनुमान गरिएको छ ।


















