एजेन्सी । आगामी फिफा विश्वकप फुटबलको राप बढ्दै गर्दा मैदान बाहिरको एउटा रोचक कूटनीतिक दृश्य चर्चामा छ ।
तर, इरानको टोलीलाई आफ्नो भूमिमा बस्न नदिने अमेरिकी अडानले फुटबलको सर्वोच्च निकाय फिफा अप्ठ्यारोमा परेको थियो ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमका अनुसार अमेरिकाले इरानी टोलीलाई आफ्नो देशमा रात बिताउन दिन नचाहेपछि फिफाले मेक्सिकोसँग सहयोग मागेको थियो ।
राष्ट्रपति शेनबामले उदारतापूर्वक भनेकी छन्, ‘अमेरिकाले इरानी टोलीलाई बस्न दिन नचाहे पनि, उनीहरूले खेल्ने त त्यहीँ (अमेरिका)मै हो । फिफाले हामीसँग आग्रह गर्यो । हामीले पनि इरानी टोली मेक्सिकोमा बस्न सक्छन् भन्ने जवाफ दियौँ ।’
शुरूमा इरानको टोलीका लागि अमेरिकास्थित एरिजोनाको टक्सनलाई बेस क्याम्प बनाइएको थियो । तर, मध्यपूर्वको पछिल्लो द्वन्द्वका कारण इरानको सहभागितामै अनिश्चितता देखिएको थियो ।
यतिमात्र होइन, इरानी टोलीको अमेरिका प्रवेशका लागि भिसाको विषय पनि पेचिलो बनेको छ । इरानको खेलकुद मन्त्रालयका अनुसार फिफा अध्यक्षले इरानी खेलाडीलाई अमेरिकाको भिसा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् ।
इरानी फुटबल संघले फिफालाई आफ्ना खेलाडी र अधिकारीहरूको प्रवेशका लागि १० वटा शर्त राखेको थियो, जसमा ईस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सैन्य सेवा गरेका व्यक्तिलाई पनि भिसा दिइनुपर्ने विषय समावेश छ ।
उता, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी खेलाडीलाई स्वागत गर्ने बताए पनि ईस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बन्ध भएका व्यक्तिहरूमाथि प्रतिबन्ध लाग्न सक्ने बताएका छन् ।
क्यानडाले पनि यसअघि नै केही इरानी फुटबल अधिकारीलाई उनीहरूको ईस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँगको सम्बन्ध देखाउँदै भिसा दिन अस्वीकार गरेको थियो ।
अहिले इरानी टोलीले अहिले टर्कीको अन्तालयामा विश्वकपको तयारी गरिरहेको छ । अमेरिकाको भिसा प्रक्रिया शुरू गर्न टोलीका केही सदस्यले हालै अंकारास्थित अमेरिकी दूतावासमा आवेदन पनि दिएका छन् ।

















