विश्व अर्थतन्त्रको विस्तार सुस्त हुने

0

काठमाडौं । विश्वव्यापी अनिश्चितता, व्यापार अवरोध र नीतिगत अस्थिरतालगायतका कारण सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार सुस्त हुने अनुमान गरिएको छ ।

अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८२/८३’ मा भनिएको छ, “सन् २०२५ मा प्रविधिमा आधारित लगानीमा हुँदै गएको वृद्धि, अमेरिकी डलरमा हुँदै गएको अवमूल्यन र प्रायः मुलुकले अवलम्बन गर्दै गएको अनुकूल वित्त नीतिबाट विश्व अर्थतन्त्रमा देखिएको गतिशीलता सन् २०२६ को फेब्रुअरीको अन्त्यतिरबाट मध्यपूर्वी एसियामा जारी द्वन्द्वको कारण शिथिल बन्न पुगेको छ ।”

युद्धको प्रभाव सन् २०२६ को मध्यसम्ममा कम हुँदै गएमा मात्र त्यसपछिको अवधिमा विश्व अर्थतन्त्रले अपेक्षित लय समात्ने जनाइएको छ ।

मध्यपूर्वी एसियाको युद्धका कारण विश्व आर्थिक वृद्धिदर अघिल्ला वर्षभन्दा तुलनात्मक रुपमा न्यून हुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरिसकेको छ ।

मध्यपूर्वी एसियामा जारी द्वन्द्व थप लम्बिएर ऊर्जा पूर्वाधारमा थप क्षति पुगेमा सन् २०२६ मा विश्व आर्थिक वृद्धिदर २.० प्रतिशतमा सीमित हुनेछ । विश्व उपभोक्ता मुद्रास्फीति ६० प्रतिशतभन्दा माथि रहने जोखिम छ ।
विश्व बजारमा देखिएको अस्थिरता, आपूर्ति श्रृंखलामा परेको प्रभाव र इन्धनलगायत अन्य अत्यावश्यक वस्तुको मूल्यमा भएको वृद्धिका कारण विश्वव्यापी मुद्रास्फीतिमा चाप परेको छ ।

भूराजनीतिक तनावका अतिरिक्त व्यापारिक अवरोध एवं दुर्लभ खनिजजन्य तत्वहरूमाथिको नियन्त्रणले विश्व आपूर्ति श्रृंखला प्रभावित हुने देखिन्छ । विशेषगरी उर्जाको मूल्य थप उच्च हुँदै जाने र मुद्रास्फीप्रतिको अपेक्षामा आउने परिवर्तनले मौद्रिक नीति सन्तुलनमा राख्न थप चुनौतीपूर्ण हुने देखिन्छ ।

“मध्यपूर्वी एसियामा जारी युद्धले विप्रेषण आप्रवाह संकुचन हुने देखिएकोले विदेशी मुद्रा सञ्चिति न्यून भएका मुलुकमा आर्थिक संकट थप गहिरिने जोखिम रहेको छ,” आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

विशेषगरी विकासशील र अति कम विकसित मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले आयात थप महंगो हुँदै जाने र अन्तर्राष्ट्रिय विकास सहायतामा समेत संकुुचन आउन सक्ने जोखिम रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here