कृषकको मेहनतमाथि प्रहार : मर्यादपुरमा ट्रेक्टर जलाईयो

3

रौतहट । मौलापुर नगरपालिका वडा नं. १ मर्यादपुर निवासी कृषक आम जनता पार्टीका नेता बालशंकर कुशवाहाको ट्रेक्टरमा गएराति करिब २ बजे अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन्। खेतीपातीको अत्यन्त महत्वपूर्ण समयमा खेतबारीमा प्रयोग हुँदै आएको ट्रेक्टरमा पेट्रोल छरेर आगो लगाइँदा ट्रेक्टर पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ।

स्थानीयवासीका अनुसार यो घटना सामान्य चोरी वा तोडफोड नभई योजनाबद्ध रूपमा गरिएको गम्भीर आपराधिक गतिविधि हो। कृषकको मेहनत, पसिना र जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको कृषि उपकरणमाथि गरिएको यस्तो अमानवीय घटनाले सम्पूर्ण क्षेत्र नै स्तब्ध बनेको छ।

विशेषगरी खेतीपातीको समयमा ट्रेक्टर नै कृषकको मुख्य सहारा हुने भएकाले यस प्रकारको आगजनीले पीडित परिवारलाई ठूलो आर्थिक तथा मानसिक क्षति पुगेको स्थानीयले बताएका छन्। पछिल्लो समय मौलापुर क्षेत्रमा बढ्दो आपराधिक घटनाक्रमप्रति समेत सर्वसाधारणले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

स्थानीय बुद्धिजीवी, किसान तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानबिन गरी संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरेर कडा कानुनी कारबाही गर्न माग गरेका छन्। साथै पीडित कृषकलाई उचित क्षतिपूर्ति तथा न्यायको प्रत्याभूति गराउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ।

यस घटनाले सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको भन्दै स्थानीय प्रशासनलाई शान्ति सुरक्षा मजबुत बनाउन र यस्ता घटनाको पुनरावृत्ति हुन नदिन प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here