सिपाही

1

 

कतै तरवार बनेर
कतै ढाल बनेर
देशको रक्षा गरिरहेछ ऊ,
सिपाही बनेर  ।
परसम्म देशको   नक्शा  हेर्दै
मातृभूमि माथि अरिघात हुन नदिन,
हरेक स्पन्दनमा
माटोको  आस्था सिउरिदै,
पुर्खाको उद्दाम वीरताको
पादचाप पछ्याउँदै,
खुकुरीका डोबमा पाइला राखी
गरेर दृढ सङ्कल्प
यो देशको सपूत
सिपाही बनेको हो ऊ ।
देश फुलाउन जुही बनेको हो ; जाई बनेको हो ।
देशकै खातिर  सिपाही बनेको हो ।
हातमा खुकुरी र काँधमा बन्दुक भए पनि
बिर्सिएको छैन उसले
बुद्धका अमृत ज्ञान
शान्तिको उद्घोष र
वसुधैव कुटुम्बकं ।
चकमन्न रातमा
सुकाएका बिस्कुन झैँ
खुल्ला  आकाशका तारापुञ्ज कुरिरहन्छ ऊ ।
सिङ्गो बस्ती सपनामा  वास्पीकृत भैरहँदा
यथार्थ बर्तमानमा चुलिएको हुन्छ ऊ।
आमाको औषधि ,
बाबाको जुहारीकोट
प्रियसीको चोलो
छोराको जुत्ता
चुलो र लाजका पर्दाहरू
मझेरीमा पोखिएको  आकाश
पूरा गर्नु छ सबै सबै आवश्यकता ।
यद्यपि ,
सम्पूर्ण कर्तव्य र जिम्मेवारी
अनि भोक र भित्ता भुलेर
देशको निम्ति
खरबारीको डँढेलो जस्तै बनेर
वैरीका किल्ला किल्लामा फैलिनुपर्छ उसले
स्वाभिमान र विरासतका खातिर
किनभने ,
ऊ युगको संवाहक हो ।
ऊ मातृभूमिको वरद पुत्र हो ।
ऊ होनहार सपूत हो ।
ऊ देशको  सिपाही हो ।
…. … ऊ देशको सिपाही हो ।

मनु शर्मा -पोखरा 30 -हाल न्युयोर्क अमेरिका !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here