काठमाडौं । सशस्त्र प्रहरी बलको हेडक्वार्टर हल्चोकस्थित एमटी (मोटर ट्रान्सपोर्ट, सवारी शाखा)मा भएको आगलागी दुर्घटनावश भएको प्रष्टीकरण हल्चोकले दिएको छ ।
बिहीबार सशस्त्र मुख्यालय हल्चोकमा भएको पत्रकार भेघाट कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले आगलागी घटनालाई दुर्घटना भएको जनाए ।
अहिलेसम्मको छानबिन दुर्घटनावश भएको उनको भनाइ थियो । यसको फाइनल प्रतिवेदन आएपछि थप विषयहरू खुल्ने कार्कीले उल्लेख गरे ।
आगलागीबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चढ्ने प्राडो गाडीसहित एटीभी (अल टेरेन भेइकल) क्वाड बाइक ६ वटा, स्कर्टिङ मोटरसाइकल, नर्मल मोटरसाइकल २ वटा जलेर नष्ट भएका थिए । मरुभूमिमा प्रयोग हुने एटीभी क्वाड बाइक सशस्त्रले मनाङ, मुस्ताङका लागि पठाउने गरेको थियो । उक्त एटीभी क्वाड बाइक अमेरिकी दूतावासले सशस्त्रलाई उपहार स्वरुप दिएको थियो ।
सशस्त्रले राखेका यी एटीभी बाइक इभी (विद्युतीय भेइकल) हुन् । यही एटीभी बाइकमा सर्ट भएर आगलागी भएको बताइएको छ ।
घटनाको छानबिन गर्न सशस्त्र हेडक्वार्टरले डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको थियो ।


















