काठमाडौं । पूर्व राष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष, जनमुखी र प्रभावकारी बनाउन ठोस आत्मसमीक्षाको आवश्यकता रहेको जनाएकी छिन्।
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आत्मसमीक्षा हुनुपर्ने जनाएकी हुन्।
फागुनको चुनावपछि कम्युनिष्ट पार्टीहरुले रक्षात्मक अवस्थामा पुगेपछि भण्डारीले नेताहरुसमेत उपस्थित कार्यक्रममा आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्ध सुदृढ गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्ने बताएकी हुन्। पाँच वर्षअघि झण्डै दुई तिहाइ बहुमत प्राप्त एमाले र नेकपा यतिबेला संसदको तेस्रो र चौथो दलका रुपमा छन्। प्रतिनिधिसभामा एमालेले जम्मा २५ र नेकपाले १७ सिट पाएको छ।
फेरि दुई पार्टी एकताको संयोजन गर्ने मनस्थितिमा रहेकी भण्डारीले एक निर्वाचनको परिणामलाई मात्र आधार बनाएर कम्युनिष्ट आन्दोलनको भविष्यप्रति हतारमा निष्कर्ष निकाल्न नहुने बताइन्। उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझै रहेको दाबी गरिन्।
‘हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिष्ट शक्तिहरूका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ । यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ, भण्डारीले अगाडि भनिन्, ‘कुनै एउटा निर्वाचनको परिणामका आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिष्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्नु उचित हुँदैन ।’
आत्मसमीक्षा, रचनात्मक पुनरावलोकन र जनतासँगको जीवन्त सम्बन्धमार्फत नै आन्दोलनले आफ्नो सान्दर्भिकता र प्रभावकारितालाई अझ सुदृढ बनाउन सक्ने विश्वास पूर्वराष्ट्रपति भण्डारीले व्यक्त गरिन्।


















