समाजवादीका मन्त्री हेरफेर हुने

113

facebook sharing button

काठमाडौं । एकीकृत समाजवादीबाट सरकारमा गएका मन्त्रीहरु बाहिरएर बुधबारसम्म नयाँ टिम भित्रने भएको छ।

जेठ २२ गते समाजवादीले आफ्ना मन्त्रीहरु हेरफेर गर्ने औपचारिक निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे पनि रोकिएको थियो। समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निरन्तरको दबाबपछि प्रधानमन्त्री देउवा मन्त्री फेर्न तयार भएका हुन्।प्रधानमन्त्री निकट स्रोतका अनुसार बुधबारसम्म नयाँ मन्त्रीहरुले शपथ लिनेछन्।

एकीकृत समाजवादीले स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ फिर्ता बोलाएर भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउन सिफारिस गरेका छन्।सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा समेत प्रधानन्त्रीले समाजवादीका मन्त्रीहरु फेरिने संकेत गरेका थिए।

संसदमा मन्त्रीले जवाफ दिनुपर्ने भएकाले संसदबाट बजेट पारित भएपछि हेरफेर गर्ने भन्दै राकिएको थियो। प्रतिनिधिसभाबाट बजेट पारित भइसकेको छ भने राष्टियसभाबाट पारित हुने क्रममा छ।

आइतबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री छिट्टै फेरिने जानकारी दिएका थिए।

निरन्तर विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्मालाई हटाउन पार्टीभित्र र विपक्षी एमालेले दबाब दिए पनि त्यसको टुंगो भने नलागेको स्रोतले जानकारी दियो। माओवादी केन्द्र र जसपाका मन्त्रीहरु पनि फेरिने बताइए पनि ठोस निर्णय भइनसकेको बालुुवाटार स्रोतले जानकारी दियो।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुनै निर्णय नगरेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। असारको अन्तिममा अमेरिका जाने तयारीमा प्रधानमन्त्री रहे पनि औपचारिक निर्णय र मिति तय हुन बाँकी छ।

परियारले भ्रमणमा नजानेबारे कुनै निर्णय नभएको जानकारी दिए। उनले भने, अहिलेसम्म प्रधानमन्त्री ज्यू अमेरिका जाने कार्यक्रम फेरिएको छैन। तर औपचारिक मिति भने तय हुन बाँकी छ।

सोमबार मन्त्रिरिषद बैठकले अमेरिकासँग हुन लागेको एसपिपी सम्झौता नगर्ने निर्णय लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here