यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

3

टोरन्टो । क्यानडाको टोरन्टो विश्वविद्यालय बुद्धिस्ट अध्ययन विभागमा रोबर्ट एचएन हो फेमिली फाउन्डेसन फर बुद्धिस्ट स्टडीजद्वारा नि:शुल्क सञ्चालन गर्दै आएको ‘टोरन्टो नेपालभाषा समर स्कुल’ (ग्रीष्मकालीन नेपालभाषा प्रशिक्षण कार्यक्रम) यसपालि गत, १५ जुन  सोमबार २०२६ मा सुरु भै गत २७ जुन शनिबार समाप्त भयो ।

आयरल्याण्ड, इटाली, क्यानडा, जर्मनी, जापान, फ्रान्स, नेपाल, बेलायत, भारत, संयुक्त राज्य अमेरिका, हंगेरी लगयतका देशका कुल ५७ विद्यार्थी, अध्येता, अनुसंधाता, अनि प्राध्यापकहरूले भाग लिएको दुइ हप्ते उक्त प्रशिक्षण कार्यक्रम यसपालि अनलाइन सम्पन्न भएको हो ।

नव प्रशिक्षार्थीहरूका लागि आधुनिक नेपालभाषाको प्रारम्भिक कक्षा, पुरानो नेपालभाषा प्रारम्भिक कक्षा, पुरानो नेपालभाषाको उच्च अध्ययन कक्षा, नव प्रशिक्षार्थीहरूका लागि आधुनिक उच्च नेपालभाषा, आधुनिक नेपालभाषा साहित्यको उच्च अध्ययन कक्षा एवं आधुनिक नेपालभाषा व्याकरण कक्षा सहित सात एकाइमा विभक्त गरि पढाइएको कार्यक्रममा भाषा शिक्षकहरु श्रीलक्ष्मी श्रेष्ठ, गीता मानन्धर, टोरन्टो विश्वविद्यालयका प्रोफेसर डा. क्रिस्टोफ एमेरिच, डा. इयान टर्नर तथा डा. बाल गोपाल श्रेष्ठले पढाउन्दै आइरहनु भएको छ ।

गत बर्ष झैं यसपालि पनि पढाइ बिचको अतिरिक्त कार्यक्रमको रूपमा जुन २५ का दिन सोसियल साइन्स बहाका अध्यक्ष एवं त्रिभुवन विश्र्वविद्यालयया पूर्व प्राध्यापक निर्मल मान तुलाधरले “नेपालभाषाको सन्दर्भमा भाषाको राजनीति” विषयमा नेपालभाषामा विषेश प्रवचन दिनुभएको थियो भने २७ जुनका दिन हार्वड बिश्वबिद्यालयया अनुसंन्धाता डा. लिवेन लिउले “मल्ल कालको उत्तरार्धमा नेपालमा चैत्यको जीवन: निर्माण, मर्मत र संरक्षण” विषयमा अंग्रेजी भाषामा विषेश प्रवचन दिनुभएको थियो ।

आफ्नो प्रवचनको क्रममा प्राध्यापक निर्मलमान तुलाधरले लिच्छवी कालका संस्कृत अभिलेखमा पाइने नदी, नाला र ठाउँहरूको नाम नेपालभाषा भएको र मल्ल कालमा आएर नेपालभाषामा धेरै अभिलेख, ऐतिहासिक दस्तावेज र रचनात्मक लेखनलाई राज्यकै संरक्षण प्राप्त भएकोले पुरानो नेपालभाषा साहित्यका धेरै विधाहरू फस्टाएको उल्लेख गर्नु भयो । तर पृथ्वीनारायण शाहले नेपाल विजय गरे पश्चात विशेषत राणा शाषणको समयमा नेपालभाषाले राज्यको कठोर दमन खेप्नु परेका कारण पछाडि धकेलिन पुगेको बताए । उहांले अहिले काठमाण्डौं महानगरपालिकामा नेपालभाषा सबैका लागि अनिवार्य पढाउन शुरु गरिएकोले नेपालभाषाको जागरण फेरि हुन थालेको पनि बताउनु भयो । डा. इयान टर्नरले संचलन गर्नु भएको उक्त प्रवचन कार्यक्रमको अन्तिम चरणमा भएको प्रश्न उत्तरको क्रममा प्राध्यापक तुलाधरले नेवाहरूले आफ्नो भाषा उत्थानको लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

यसैबीच, डा. लिवेन लिउले मल्ल कालिन नेपालको अन्तिम कालखण्डमा मन्दिरहरू कसले निर्माण गरे र मर्मत गरे र समयसँगै यी स्मारकहरू कसरी संरक्षित भए भन्ने बारेमा विभिन्न शिलालेखहरूको प्रमाणको आधारमा आफ्नो प्रवचन प्रस्तुत गर्नुभयो । उनले कीर्तिपुरको चिलन्चो परिसरमा अवस्थित बौद्ध चैत्यहरू बारेका स्थापित शिलालेखहरूको अध्ययनको क्रममा पत्ता लगाएका तथ्यहरूको विश्लेषण गरेका थिए । प्रवचन अन्त्यतिर प्रोफेसर डा. क्रिस्टोफ एमेरिचले प्रश्नोत्तर सत्र सञ्चालन गर्नु भएको थियो । डा. लिवेन लिउले विभिन्न देशबाट भागलिएका जिज्ञासु सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ पनि दिए । आफुले चिलन्चोमा अझै पाइला नटेकेकि डा. लिउले विदेशमै बसेर त्यहाँ रहेका शिलालेखहरूको गहन अध्यनय गरेर लामो इतिहास खुलासा गरेर सबैलाई चकित पारेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here