नयाँ दिल्ली । चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट विवादमा तानिएका भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । प्रश्नपत्र काण्डपछि रुष्ट बनेका युवाहरूले उनको राजीनामा मागे पनि प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुमा त्यसलाई बेवास्ता गरेका थिए । तर, सामाजिक सञ्जालमा सीमित आक्रोशले सडकमा आक्रामक रूप लिएपछि अन्ततः सरकार घुँडा टेक्न बाध्य भएको हो ।
यस अभूतपूर्व आन्दोलनको नेतृत्व ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले गरेको थियो। अमेरिकाको एक विश्वविद्यालयबाट भर्खरै स्नातक गरेका ३० वर्षीय अभिजीत दीपकेले गत मे महिनामा यो अभियान सुरु गरेका हुन् ।
भारतको सर्वोच्च अदालतमा भएको एक सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले देशका बेरोजगार युवालाई ‘परजीवी’ र ‘साङ्लो’ (कक्रोच) सँग तुलना गरेका थिए । उक्त अभिव्यक्तिबाट आक्रोशित बनेका दीपकेले सामाजिक सञ्जालमा लेखेका थिए— “यो देशका लाखौँ साङ्लाहरू एक भए भने के होला ?”
उनको यो पोस्ट इन्स्टाग्राममा भाइरल भयो । त्यसलगत्तै उनले सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी) लाई व्यङ्ग्य गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) स्थापनाको घोषणा गरे र सदस्यताका लागि अनलाइन लिङ्क सार्वजनिक गरे ।

















