काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा यसअघि प्रहरी अधिकारीहरूसँग सवाल जवाफ गरेका सुनार आज पनि बैठकमा त्यही प्रसंग उठाएर बोलेका थिए ।
उनले प्रहरीको स्रोत साधन खरिदको विषयमा भएको जानकारी अहिलेसम्म आयो कि आएन भनेर प्रश्न गरेका छन् । उनले अघिल्लो बैठकमा आफूले गरेकाप्रश्नहरूमा अहिले पनि दृढ रहेको उल्लेख गर्दै कसैलाई मानमर्दन भएको लागे अदालतमा गएर मुद्दा हाल्न चुनौती दिए ।
उनले प्रहरी महानिरीक्षकलाई इंगित गर्दै समितिमा आएर जुहारी खेलेको आरोप लगाए । ‘अस्ती गरेको प्रश्नमा म अडिग छु । मजबुत छु । कहिँ कोही साथीहरूलाई मानमर्दन भयो भन्ने लाग्छ भने उतापट्टी अदालत छ गएर मुद्दा हाल्नुहोला कठघरामा उभिएर जवाफ दिन तयार छु’ उनले भने,’तर सार्वभौम समितिमा आए टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन । सरकारको मानमर्दन गर्न पाइँदैन ।’


















