काठमाडौँ। भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीपछि अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक तथा मानवीय सहयोग प्राप्त हुने क्रम बढेको प्रधानमन्त्री बालेन शाहले बताएका छन् ।
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार एसियाली विकास बैंक (एडीबी) बाट बजेटरी सहयोगस्वरूप ५ मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने प्रतिबद्धता आएको छ । त्यस्तै, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १ मिलियन अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता आएको उनले जानकारी दिएका छन् ।
मानवीय सहायतातर्फ भारत सरकारबाट हालसम्म चार चरणमा गरी कुल ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको प्रधानमन्त्री शाहले बताएका छन् । चीन र अमेरिकाबाट पनि सोही प्रकृतिको सहायता आउने क्रममा रहेको उनले जानकारी दिएका छन् ।
त्यस्तै, स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसङ्घमार्फत खर्च हुने गरी १ मिलियन स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको प्रधानमन्त्री शाहले जनाएका छन्।
विपद्बाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले सरकारको प्रयासमा थप बल पुगेको उनको धारणा छ।


















