काठमाडौं । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ ।
विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाइँसराइ गर्ने गरेका छन् ।
यसैगरी बसाइँसराइ गर्नेहरुलाई डिहाइड्रेसन, हाइपोथर्मिया, कुपोषण, थकान, आघातजन्य चोटपटक, डुब्ने, असुरक्षित काम गर्नुपर्ने अवस्था र मनोवैज्ञानिक पीडा जस्ता उच्च जोखिम मात्र नभै बसाइँसराइका विभिन्न चरणहरूमा सामना गर्ने शारीरिक र मनोवैज्ञानिक दुव्र्यवहार, बारम्बार हिंसा आदि जस्ता बाधा व्यवधानहरूको सामना गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीपले घाइते तथा बिरामीको तत्काल उद्धार, स्वास्थ्य अवस्था बिग्रन नदिन र जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ ।
नेपाल रेडक्रसले नेपाल सरकारका सुरक्षा निकाय, संयुक्त राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्था, कुटनीतिक नियोग, औद्योगिक तथा व्यावसायिक क्षेत्रलगायत सरोकारवालासँग समन्वय र साझेदारी गर्दै प्राथमिक उपचारसम्बन्धी प्रवद्र्धनात्मक प्रशिक्षण तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै सकेसम्म सबैमा प्राथमिक उपचारको पहुँच पुर्याउन प्रयासरत रहेको जनाएको छ ।
यस अवसरमा, नेपाल रेडक्रस सोसाइटीले ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नारालाई आत्मसात् गर्दै प्राथमिक उपचारको ज्ञान, सीप र अभ्यासलाई व्यापक बनाउन तथा ‘हरेक घरमा एक प्राथमिक उपचारकर्ता’ भन्ने अभियानलाई सार्थक बनाउन सबैलाई आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘जीवन रक्षा अभियानमा योगदान पु¥याउने सम्पूर्ण प्राथमिक उपचार प्रशिक्षक तथा स्वयंसेवकहरू प्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौँ ।’


















