काठमाडौं । कुमारी बैंक पीसीएएफ (पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल)मा आबद्ध भएको छ। बैंक पीसीएएफ मा आबद्ध भएसँगै आफ्नो वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा व्यवस्थापनमा थप पारदर्शिता अपनाउने प्रतिबद्धता जनाएको छ।
पीसीएएफको सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक रूपमा खुलासा गर्न पीसीएएफले विश्वव्यापी रूपमा मान्यता दिएको मापदण्ड तथा विधि प्रयोग गर्ने जनाएको छ।
पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो, जसले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासा गर्न सहजीकरण गर्छ। यसको विश्वव्यापी सञ्जालले वित्तीय संस्थालाई वित्तीय लगानीसँग सम्बन्धित उत्सर्जन मापन तथा जलवायुसम्बन्धी पारदर्शिता सुधार गर्न साझा ढाँचा प्रदान गर्दै आएको छ।
कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोसेढुंगा भएको बताएका छन्। यसले वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जन बुझ्न, जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन तथा उत्थानशील र दिगो अर्थतन्त्रतर्फ अघि बढ्न सहयोग गर्ने उनको भनाइ छ।
बैंकले दिगो वित्तका अवसर विस्तार गर्नुका साथै आफ्नो सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायुसम्बन्धी पक्षलाई थप एकीकृत गर्ने जनाएको छ। साथै, नेपालको दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्याउन सरोकारवालासँगको सहकार्यलाई निरन्तरता दिने बैंकले जनाएको छ।
कुमारी बैंकले देशभर आफ्नो बैंकिङ सञ्जालमार्फत दिगो वित्तीय पहललाई विस्तार गर्दै आएको जनाएको छ। बैंकका अनुसार ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तमा केन्द्रित हुँदै बैंकले नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो भूमिका थप सुदृढ गर्दै आएको छ।


















