काठमाडौं। ललितपुर महानगरले वि.सं २०४६ सालदेखि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय संचालनमा ल्याइएकाे छ ।
साे पुस्तकालयको संस्कृति शिरोमणि हरिराम जोशीले शुक्रवार उद्घाटन गरेका थिए । पुस्तकालय ललितपुर महानगरको नया भवन ब्लक बीको चौथो तल्लामा रहेको छ। २०४६ सालको जनआन्दोलन अघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा संचालन भएको थियो।
पुस्तकालय उद्घाटनपछि संस्कृति शिरोमणि जोशीले शारदा पुस्तकालयलाई जिवन्तता दिएकोमा ललितपुर महानगरलाई धन्यवाद दिए। उनले भने, ‘महानगरका प्रमुख, उपप्रमुख र महानगरको सम्पूर्ण परिवारलाई शारदा पुस्तकालय संचालन गरेकोमा धन्यवाद ज्ञापन व्यक्त गरे ’
उनले शारदाको अर्थ आमा भएको बताउँदै उक्त पुस्तकालयको उद्घाटन गर्न पाउँदाको क्षण जीवनको महत्वपूर्ण क्षण भएको बताए। पुस्तकालय यसअघि कालकोठरीमा रहेको बताउँदै महानगरले पुस्तकालयलाई उच्च स्थान दिएकोमा महानगरलाई धन्यवाद दिए।
पुन:स्थापित शारदा पुस्तकालय संचालनको सम्बन्धमा महानगर संवेदनशील भएको बताए। पुस्तकालयका लागि पुस्तक उपलब्ध गराउने लेखक तथा प्रकाशक मिरसुब्बा नारायण प्रसाद श्रेष्ठ र शताब्दी पुरुष सत्यमोहन जोशीका छोरा अनुराग जोशीलाई धन्यवाद दिए।
सत्यमोहन जोशीले शारदा पुस्तकालय पुन: स्थापित गर्न आफूलाई पटक-पटक प्रेरित गरेको नगरप्रमुख महर्जनले स्मरण गरे। २०४६ सालको जनआन्दोलनको बेलामा केही बाँकी नरहने गरी पुस्तकालय मासिएको बताए। नगर प्रमुख महर्जनले महानगरले कला, साहित्य र संस्कृति संरक्षणका लागि गरेका कामका बारेमा जानकारी गराए।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पठन संस्कृतिको महत्व बुझाउन ललितपुर महानगरले शारदा पुस्तकालयलाई पुन: स्थापित गरेको जनाइन्। पुस्तकालयको पुनर्स्थापना सजिलो नभएको बताउँदै सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिइन्।
पुस्तक ज्ञानको प्रारम्भिक स्रोत भएको बताउँदै पुस्तकालयको महत्वलाई बुझाउन अत्यावश्यक भएको प्रष्ट पारिन्। लेखक तथा प्रकाशक मिरसुब्बा नारायण प्रसाद श्रेष्ठले विश्वप्रसिद्ध कलाकार अरनिको जन्माउने ललितपुर विश्वकै उत्कृष्ट शहर भएको प्रष्टायाए ।
शारदा पुस्तकालयको पुनर्स्थापना गरेर महानगरले आफ्नो गरिमा बढाएको बताए। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी,नेपाल राष्ट्रिय पुस्तकालय,मदन पुस्तकालयलाई पुस्तकालय पुनर्स्थापना गर्नका लागि गरेको सहयोगप्रति नगरप्रमुखले आभार प्रकट गरे।

















