पशुमाथि हुने क्रूरता राेक्न माग

4

काठमाडौं । रास्वपाकी सांसद आशिका तामाङले दशैँका नाममा निर्दोष पशुमाथि हुने क्रूरता र बलि प्रथा रोक्न माग गरेकी छिन्। क्रूरतापूर्वक बध गर्ने कार्यप्रति कडा आपत्ति जनाउँदै सांसद तामाङले पशु अधिकारका लागि राम्रो कानुनी व्यवस्था गर्न माग गरेकी हुन्।

संसदलाई सम्बोधन गर्दै सांसद तामाङले दशैँ नजिकिँदै गर्दा मानिसहरुका लागि उत्सवको माहोल भए पनि निर्दोष जनावरहरुका लागि भने यो पर्व दशा बनेर आउने बताइन्। ‘दशैँ आउन अब जम्मा १० दिन जति बाँकी छ। हामीलाई दशैँ उत्सव हुन सक्छ, तर निर्दोष जनावरहरुका लागि भने दशैँ दशा नै हो,’ उनले भनिन्, दशैँको समयमा पूजाआजाभन्दा बढी ध्यान खसी, बोका र राँगा कसरी ढाल्ने भन्ने सोचमा केन्द्रित हुने गरेको छ।’

उनले सार्वजनिकस्थलमा पशुमाथि हुने अमानवीय व्यवहारको दृश्य रोक्न माग गरिन्। ‘खेतका आली(आलीमा लखेटी लखेटी, भीडमा तरबारले घोची-घोची वा लौरीले ढाडमा चुटी-चुटी बलि दिइन्छ। यस्तै दृश्यहरु हेर्दै म यही समाजमा हुर्किएकी हुँ। आज हजारौँ, लाखौँ निर्दोष पशुहरुको सार्वजनिक रुपमा विभत्स हत्या गरेर बलि चढाइन्छ, सांसद तामाङले भनिन्।

विदेशमा पशुमाथि हुने क्रूरताका आधारमा सजाय तोक्ने कडा कानुनी व्यवस्था रहेको उदाहरण दिँदै उनले नेपालमा पशु कल्याण सम्बन्धी कानुन निकै कमजोर रहेको बताइन्। पशु सेवाको नाममा बनेका वर्तमान नीतिहरुको आलोचना गर्दै उनले प्रश्न गरिन्, ‘हाम्रो देशमा पशु कल्याणका लागि बनेको कानुनी व्यवस्था किन यति धेरै कमजोर छ? पशु सेवाको नाममा भएको नीतिले पशुबाट मेवा (फाइदा) मात्र लिने, तर पशुलाई वास्तविक सेवा र कल्याण कहिल्यै नदिने नीति कहिले खारेज हुन्छ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here