
काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी ७ अक्टोबरबाट ओमानमा सुरु हुने विश्वकप लिग-२ को सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ।
घोषित १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीमा यो पटक पनि कुशल भुर्तेलसहित केही अनुभवी खेलाडी टोलीमा अटाएका छैनन्। सन्दीप लामिछानेको कप्तानीमा घोषित टिममा अधिकांश अघिल्लो सिरिजमा रहेकै खेलाडीको बाहुल्यता रहेको छ।
टोलीमा एसीसी प्रिमियर कप जितेको टोलीमा दुई परिवर्तन गरिएको छ। हेमन्त धामी बाहिरिएका छन् भने नन्दन यादवलाइ टोलीमा भित्र्याइएको छ। यादव चोटका कारण एसीसी प्रिमियर कपमा सहभागी थिएनन्।
टोलीमा भुर्तेलसहित अनुभवि खेलाडीहरू सोमपाल कामी, आरिफ शेख र भिम सार्कीले यसपाली पनि विश्वकप लिग-२ को श्रृंखलामा स्थान बनाउन सकेनन्। लिग २ अन्तर्गत नेपालको एकदिवसीय वरियता र एकदिवसीय विश्वकप छनोटको बलियो आधारका लागि निर्णायक मानिएको सिरिजमा ओमान र क्यानाडासँग नेपालले त्रिकोणात्मक प्रतिस्पर्धा गर्ने छ।
टोलीमा पूर्वकप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, करण केसीले स्थान बनाउँदा अर्जुन कुमाल, नन्दन यादव, शेर मल्ल लगायत खेलाडीहरु पनि समेटिएका छन्।
नेपाली राष्ट्रिय टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम, शेर मल्ल रहेका छन् ।

















