काठमाडौं । झापा, कमल गाउँपालिका-५ टुकुरेस्थित सडकमा दमकबाट पेल्टिमारीतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह ५७९३ नम्बरको सिटी सफारीले किचेर चालक इलाम चुलाचुली गाउँपालिका-४ बस्ने ३३ वर्षीय डम्बर लिम्बुकी छोरी ५ वर्षीया लोजिना लिम्बुको आइतबार साँझ मृत्यु भएको छ । सिटी सफारीबाट लडेर उक्त सिटी सफारीले किच्दा गम्भीर घाइते भएकी उनको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी झापा, दमक नगरपालिका-९ बुद्ध चोकस्थित सडकमा बा.१-०१-०२५ च ४२०९ नम्बरको सुमोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७३ वर्षीय माधव प्रसाद भट्टराईको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङ, घोराही उपमहानगरपालिका-३ कुइरेपानी नजिक सडकमा घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना.२ ख २५११ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने लोकमनी अधिकारीको छोरा ६ वर्षीय राजन अधिकारीको आइतबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















