पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको महासम्मेलन पुसमा हुने

8

पोखरा । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको महासम्मेलन आगामी पुस दोस्रो साता हुने निर्णय भएको छ । विश्वविद्यालयले पोखरामा आयोजना गरेको महासम्मेलन तयारी बैठकले परिकल्पनाकार अशोक सुवेदीको संयोजकत्वमा १०१ सदस्यीय आयोजक समिति घोषणा गरेको छ । महासम्मेलन आयोजक समितिमा ८२ वर्षीय पूर्ण ढुङ्गाना र पूर्ण गिरीदेखि माओवादी नेता भक्ति लामिछानेसम्म रहेको जानकारी विश्वविद्यालयले दिएको छ ।

बैठकमा मार्क्सवादी अग्रज रामराज रेग्मी, झलकपाणि तिवारी, भक्तिप्रसाद लामिछाने, पूर्ण गिरी, पूर्ण ढुङ्गाना, रामजी थापा, नेपाली कम्युनिस्ट पार्टी गण्डकीका सहइन्चार्ज श्रीनाथ बराल, पूर्वमन्त्री त्रिलोचन ढकाल, एकदेव आले स्मृति प्रतिष्ठानका संरक्षक पी एल श्रेष्ठ, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्यहरू केशबहादुर परियार र नारायण अधिकारी ‘निश्चल’, नेपाली कम्युनिस्ट पार्टीका युवा नेता राजकाजी गुरुङ, नेकपा कास्कीका इन्चार्ज रामजी बराल, नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बरालले विश्व कम्युनिस्ट आन्दोलनका लागि अपरिहार्य रहेको मार्क्सवादी विश्वविद्यालयको स्थापनामा महासम्मेलनले ऐतिहासिक भूमिका निर्वाह गर्ने धारणा राखेका थिए ।

विश्वविद्यालय महासम्मेलन आयोजनाका लागि गण्डकीका अग्रज कम्युनिस्ट नेता वामपन्थी बौद्धिकहरू शेषमणि आचार्य, प्रगतिशील लेखक दुर्गानारायण ढकाल, नेकपाका संस्थापक महासचिव पुष्पलालका कार्यकर्ता विश्वबन्धु भण्डारी, वरिष्ठ अधिवक्ता तिलक पराजुली, राष्ट्रिय सभा सदस्य भुवन सुनार, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाली कम्युनिस्ट पार्टी गण्डकी प्रदेशका संयोजक कृष्ण नेपाली, सहसंयोजक गायत्री गुरुङ, एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, नेपाली कम्युनिस्ट पार्टीका नेता पूर्ण लामा, उक्त पार्टीका गण्डकी प्रदेश आर्थिक विभाग प्रमुख तारा भुसाल, समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेता ईश्वर बुढाथोकी, सीबी बस्याल, शारदा शाह, भूमिका सिँजाली, देवीलाल परियार, वामपन्थी नेता डम्बर विक ‘मामा’ ले ऐक्यबद्धता प्रकट गरेको जानकारी विश्वविद्यालय व्यवस्थापन समितिले दिएको छ । विश्वविद्यालय महासम्मेलनका लागि रामेछाप, झापा, काठमाडौंलगायत देशका विभिन्न स्थानका अग्रज वामपन्थी नेताहरूले यसअघि नै सहभागिता जनाइसकेका छन्।

यसरी सहभागिता जनाउनेहरूमा दक्षिण एसियाका नेल्सन मन्डेलाका नामले चिनिएका ८० वर्षीय मोहनचन्द्र अधिकारीदेखि एमाले युवानेत्री एवम् माणिक लामा प्रतिष्ठानकी उपाध्यक्ष नवीना लामासम्म छन् । विश्वविद्यालयका लागि नेकपा मालेका महासचिव सीपी मैनाली, एमाले पूर्वउपाध्यक्ष युवराज ज्ञवाली, क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, मार्क्सवादी सौन्दर्यशास्त्री गोपीन्द्र पौडेल, नेकपाका संयोजक लोकनारायण सुवेदी, नेकपाका अध्यक्ष ऋषि कट्टेल, आरबी भण्डारी, माओवादी नेता नारायण शर्मा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईसम्मले ऐक्यबद्धता जनाइसकेका छन् ।

बैठकमा अखिल नेपाल प्रगतिशील बुद्धिजीवी सङ्घका महासचिव परशुराम कोइराला, नेकपाका केन्द्रीय सदस्य काजी गुरुङ, समालोचक कमल ढकाल, नेकपाका केन्द्रीय सदस्य एवम् साहित्यकार राजु क्षेत्री, नेकपा कास्कीका नेता खड्ग हमाल, साहित्यकार नारायण परिश्रमी लगायत सहभागी थिए ।

बैठकमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालयका परिकल्पनाकार अशोक सुवेदीले विश्वविद्यालयको प्रस्तावना र महासम्मेलनको खाका प्रस्तुत गरेका थिए ।

महासम्मेलनमा नेपालमा क्रियाशील सम्पूर्ण कम्युनिस्ट पार्टी प्रतिनिधि, बौद्धिक वर्ग, डाक्टर, प्राध्यापक, कूटनीतिज्ञ, राजनीतिज्ञ, युवा वैज्ञानिक, पूर्वकुलपति–उपकुलपति, प्राविधिज्ञ, राजनीतिज्ञ, सौन्दर्यशास्त्री, अर्थशास्त्री, दर्शनशास्त्री, साहित्यकारहरुको सहभागिता रहने बताइएको छ । २० वर्षअघिदेखि सञ्चालित पुष्पलाल मार्क्सवादी विश्वविद्यालय महाअभियानको महासम्मेलनले कार्यसमिति, पाठ्यक्रम, विज्ञसभा तथा सल्लाहकार समितिको चयन गर्ने जनाइएको छ ।

विश्वविद्यालयसँग नेपाली कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी एमाले, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा बहुमत, माओवादी नेताहरू, एकदेव आले स्मृति प्रतिष्ठान, दिग्गज वामपन्थी बौद्धिकहरू, मार्क्सवादी अध्ययन स्रोत केन्द्र, थमन परियार प्रतिष्ठान, सहिद विजय ढकाल स्मृति प्रतिष्ठान, अखिल नेपाल प्रगतिशील बुद्धिजीवी सङ्घ, हित–जून साहित्य प्रतिष्ठान, माणिक लामा प्रतिष्ठान, मोहनचन्द्र अधिकारी फाउन्डेसन, पुष्पलाल अध्ययन समाज लगायत सङ्घसंस्थासँग सहकार्य गर्ने तयारी भइरहेको आयोजकहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here