काठमाडौं। राष्ट्रिय जेनजी नागरिक अभियानका सहसंयोजक अजय सोडारीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानका सहसंयोजक सोडारीले गायन र सामाजिक व्यक्तित्वको आडमा बिचौलियागिरी गर्ने आनीलाई कोषको उपाध्यक्षमा नियुक्ति दिइएको आरोप लगाए । उनले बालेन सरकारले देशको राष्ट्रियतामाथि धावा बोल्न नमिल्ने तर्क गर्दै उक्त नियुक्तिले जेनजी आन्दोलनको समेत अपमान गरेको दाबी गरे ।
‘सम्पत्ति शुद्धीकरण र नागरिकता कीर्ते जस्तो गम्भीर विषयमा जोडिएको व्यक्तिलाई विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउनुको औचित्य के हो ? सरकारले यो प्रश्नको उत्तर दिनुपर्छ,’ पत्रकार सम्मेलनमा सोडारीले भने ।
सार्वजनिक संस्थानहरूमा पारदर्शी ढंगले नियुक्ति हुन नसकेको आरोप लगाउँदै उनले आनीको नियुक्ति तत्काल बदर गर्न माग गरे ।
सरकारले उक्त नियुक्ति खारेज नगरे वर्तमान सरकार दलाल र बिचौलियाकै पक्षमा रहेको पुष्टि हुने सोडारीको भनाइ थियो ।


















