भारतबाट १ सय ५० मेगावाट विद्युत् खरिद गर्न प्रस्ताव

5

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट १ सय ५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव मागेको छ ।

प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक-आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत विद्युत् खरिद गर्न भारतीय कम्पनीहरूसँग प्रस्ताव मागेको हो ।

प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै भारतका क्याटागोरी-१, २ र ३ अन्तर्गतका विद्युत् व्यापारिक अनुमतिपत्र प्राप्त कम्पनीले प्रस्ताव पेस गर्न सक्ने जनाएको छ ।

प्रस्ताव पेस गर्ने अन्तिम मिति २८ डिसेम्बर २०२६ (१३ पुस २०८३) दिउँसो १२ बजेसम्म तोकिएको छ । प्राधिकरणले सोही दिन दिउँसो १ बजे प्राविधिक प्रस्ताव खोल्ने जनाएको छ ।

बोलपत्र दस्तुर बापत भारतीय रुपैयाँ १२ हजार ५ सय वा त्यस बराबर नेपाली रुपैयाँ बुझाउनुपर्ने छ । त्यस्तै बोलपत्रदाताले प्रस्ताव गरेको कुल विद्युत् क्षमताको प्रतिमेगावाट प्रतिमहिना ५५ हजार भारुका दरले धरौटी (अर्नेस्ट मनी डिपोजिट) राख्नुपर्ने छ ।

प्राधिकरणको सूचना अनुसार बोलपत्र सम्बन्धी कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र पोर्टलबाट डाउनलोड गर्न सकिने छ । इच्छुक कम्पनीले सोही पोर्टल मार्फत विद्युतीय रूपमा बोलपत्र पेस गर्नुपर्ने छ ।

प्राविधिक प्रस्ताव प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा खोलिने छ । प्रस्ताव खोल्ने क्रममा उपस्थित हुन चाहने बोलपत्रदाता वा उनीहरूका आधिकारिक प्रतिनिधि सहभागी हुन सक्नेछन् ।

प्राधिकरणले प्राप्त प्रस्तावमध्ये कुनै वा सबै प्रस्ताव स्वीकार वा अस्वीकार गर्न सक्ने अधिकार आफूमा सुरक्षित राखेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here