काठमाडौं । सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ ।
नेपाली सेनाका सहायकरथी एवं सैनिक प्रवक्ता राजेन्द्र श्रेष्ठका अनुसार यस वर्षको सम्मेलनको मूल भाव ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ रहेकोे छ ।
यस पटक यही मंसिर १४ देखि २५ गतेसम्म कोशी र बागमती प्रदेशका २४ जिल्लाका भूपूसैनिकलाई समेट्ने गरी २० स्थानमा हुने सम्मेलनमा करिब ५५ हजार भूपूसैनिकको सहभागिता रहने अनुमान गरिएको छ ।
पहिलो चरणमा यस वर्ष पूर्वी पृतनाअन्तर्गत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, उदयपुर, खोटाङ र सोलुखुम्बुमा सम्मेलन हुनेछ ।
हरेक प्रधान सेनापतिको कार्यकालमा प्रत्येक प्रदेशमा एकपटक आयोजना गरिने सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी गरिँदै आएको छ । पृतनाको मुख्यालयमा हुने सम्मेलनलाई प्रधान सेनापति अशोकराज सिग्देलले सम्बोधन गर्नेछन् ।


















