काठमाडौं, ६ पुस । सीमाङ्कनप्रति चित्त दुखाएको चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले दोस्रो चरणको आन्दोलनको तयारी स्वरुप आफ्नो हाइकमान्डको बैठक बोलाएको छ ।
काठमाडौंको रातोपुलस्थित पार्टी कार्यालयमा आज मध्यान्ह बस्ने हाइकमान्डको बैठकले दोस्रो चरणको आन्दोलनको तयारी गर्ने अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
‘चुरे भावर क्षेत्रलाई समेटेर संघीय प्रदेश बनाउनु पर्ने हाम्रो पार्टीको मागलाई सरकारले कार्यान्वयन गरेन’, अध्यक्ष न्यौपानले भन्नुभयो, ‘सरकारसँग भएको माग पूरा गराउन दबाव दिन दोस्रो चरणको आन्दोलनको तयारी गर्दैछौँ ।’
चुरे भावर क्षेत्रलाई दुई नम्बर प्रदेशमा राखिएको प्रति अध्यक्ष न्यौपानले असन्तुष्टि जनाउनु भयो । उहाँले भन्नुभयो, ‘दुई नम्बर प्रदेशको सीमाङ्कन उपयुक्त छैन । यो प्रदेशमा हिमाल, पहाड र तराई जोडिएको छैन । अरु प्रदेशमा हिमाल, पहाड तराई जोड्न हामीलाई अलग गराउन पाइन्छ ?’
सरकारले छिटो वार्ता गरेर मुलुकको पछिल्लो राजनीतिक समस्यालाई समाधान गर्नुपर्ने चुरे भावरको सुझाव छ ।


















