भदौ ३० मा विप्लव माओवादीको जनसंघर्ष

240

काठमाडौं/ दश वर्षसम्म सशस्त्र संघर्ष गरेको नेकपा (माओवादी) समूह–समूहमा विभाजित भएर कमजोर अवस्थामा रहेको भए पनि सत्ता र सडक जताततै माओवादीको उपस्थिति देखिने भएको छ । सशस्त्र युद्धकालका कमाण्डर प्रचण्डले सरकारको नेतृत्व गरिरहेका बेला मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको क्रान्तिकारी माओवादी पार्टीले सुकुम्बासी जनतामाथि दमन नगर्न सरकारलाई खबरदारी गरेको छ भने नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा माओवादीले भ्रष्टाचार, राष्ट्रघाती सम्झौता, कालोबजारी र सुकुम्बासीमाथि राज्यको दमनका विरुद्ध संघर्षका कार्यक्रम नै सार्वजनिक गरेको छ । विप्लव नेतृत्वको माओवादी र वैद्य नेतृत्वको माओवादीका जनसंघर्षका कार्यक्रमहरू समानखालका देखिएका छन् । यसले गर्दा सडक आन्दोलनमा वैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको माओवादीबीच एकता हुने सम्भावना देखिएको छ ।

विप्लव नेतृत्वको माओवादीले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्रसमेत बुझाएको छ । आज भदौ २३ गते देशव्यापी कोणसभा गर्ने कार्यक्रम रहेको छ भने भोलिदेखि चरणबद्ध रूपमा असोज २८ गतेसम्मका लागि संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको कार्यक्रमअनुसार भदौ २४ गते पर्चा वितरण, भदौ २५ गते जनप्रदर्शन, २६ भदौमा देशव्यापी अन्तक्र्रिया, २७ भदौमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउने र २८ भदौमा मसाल जुलुस प्रदर्शन गरिनेछ ।

सार्वजनिक गरिएको आन्दोलनको कार्यक्रमबाट पनि सरकारले टेरपुरच्छर नलगाए ३० भदौमा जनसंघर्ष गर्ने भनिएको छ । जनसंघर्षका क्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा राष्ट्रघाती सन्धिसम्झौता नगर्न खबरदारी गरिने भएको छ । ३० भदौमै प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने कार्यक्रम भएकाले प्रधानमन्त्रीलाई खबरदारी गर्न र उच्च मनोबलका साथ भारतसमक्ष प्रस्तुत भई देशको हितमा अडान लिन प्रेरणा लिओस् भन्ने उद्देश्यले सो दिन जनसंघर्षको कार्यक्रम तय भएको विप्लव माओवादीका एक नेताले जनधारणालाई जानकारी गराएका छन् । ३० भदौको कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्ड भारतबाट फर्केपछि मात्र कडा संघर्षका कार्यक्रम गरिने जानकारी विप्लव नेतृत्वको माओवादी पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी गराए । कडा संघर्षका कार्यक्रमअन्तर्गत ५ असोजमा आपूर्ति मन्त्रालय घेराउ, १० असोजमा उपभोक्ता मञ्चसहित देशव्यापी जनप्रदर्शन २५ असोजमा देशव्यापी चक्काजाम र २८ असोजमा नेपाल बन्द गरिने भएको छ ।

विप्लव माओवादीको बैठकले आगामी मंसिरसम्ममा पार्टीको गाउा र नगर भेला गर्ने निर्णय गरेको छ भने पुसभित्रका जिल्ला सम्मेलनहरू सम्पन्न गर्ने निर्णय गरेको छ । जनयुद्ध दिवसका दिन फागुन १ गते काठमाडौंको खुल्लामञ्चमा पार्टीको आठौं महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने महाधिवेशनको बन्द सत्र रोल्पा जिल्लाको थवाङ गाविसमा गर्ने निर्णय भएको छ । यही भदौ ११ देखि १४ सम्म धादिङ जिल्लाको ग्रामीण क्षेत्रमा भूमिगत रूपमा सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको जानकारी प्रवक्ता प्रकाण्डले गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here