राज्यलक्ष्मी शाक्य
नेपालमा सडक दुर्घटनाका समाचार सञ्चारमाध्यमले प्रकाशन वा प्रसारण नगरेको सायदै कमै सुन्न पाइन्छ । दुर्घटनाका समाचार नसुनेको दिन अनौठो मान्नुपर्ने अवस्था छ । विशेष गरी सवारी दुर्घटनाको दर नेपालमा उच्च भएकै कारण सम्बन्धित परिवार वा आफन्त बाहेकले यसप्रति त्यति धेरै चासो दिंदैनन् र दिने अवस्था पनि छैन । दुर्घटनाका समाचार पढ्न र सुन्न जनता अभ्यस्त बने पनि राज्यका लागि यो निकै ठूलो चुनौतीको विषय हो । तर विडम्बना नै भन्नुपर्छ, यसलाई नियन्त्रण गर्ने राज्य तथा यसका संयन्त्रहरू पनि यसप्रति गम्भीर नभएको उनीहरूका गतिविधिले पुष्टि हुन्छ ।
नेपालमा सरकार त छ तर नागरिकले सरकार भएको महसुस गर्ने अवस्था छैन । कारण हो नागरिकको दुःख तथा पीडालाई सम्बोधन गर्ने तत्परता राज्यले कहिल्यै देखाउँदैन । सडक दुर्घटना पनि नागरिकले राज्यको हेलचेक्र््याइँका कारण सहनुपर्ने एउटा दुःख अर्थात् पीडा हो । यो जसले भोग्छ पीडा उसैलाई मात्र थाहा हुन्छ । राज्य त एउटा बहाना गरेर उम्कने प्रयास मात्र गर्छ । राज्यले चाहेमा कडा नियम बनाएर दुर्घटनालाई न्यूनीकरण वा नियन्त्रण गर्न सक्छ । तर इच्छाशक्ति अभावमा हो या नागरिकप्रतिको गैरजिम्मेवारीका कारण यसलाई कठोर ढंगले नियन्त्रण गर्ने योजना राज्यले बनाउँदैन । मुख्य कारणलाई नै नियन्त्रण नगरेपछि हरेक नागरिकका पछाडि दगुर्न राज्यलाई सम्भव हुने कुरा पनि होइन । यो आलेख किन पनि लेख्नुपरेको हो भने पंक्तिकार स्वयं पनि अर्काेले गरेको गल्तीका कारण दुर्घटनामा परेको घटना राम्रोसँग सेलाउन नपाउँदै परिवारका सदस्य पनि उस्तै प्रकृतिको दुर्घटना अर्थात् सडकलाई आफ्नो सम्पत्ति ठान्ने ठूला सवारीसाधनको बलमिच्याइँका कारण गम्भीर दुर्घटनामा परेर आईसीयुमा राखेर उपचार गराइरहनु परेको अवस्था छ । एउटा सामान्य नागरिकले नियमको उल्लंघन गर्नेहरूको शिकार हुनुपर्ने बाध्यता छ तर दुर्घटना गराउने व्यक्तिलाई भगाउन सरकारी निकायले नै सहयोग गर्छ । र, लामो समयसम्म पनि पक्राउ गर्न नसकेको भन्दै कारबाहीबाट उन्मुक्ति लिने प्रयासमा सरकारी निकाय नै सक्रिय हुन्छ । सुरक्षा निकायले चाहेको खण्डमा जस्तोसुकै व्यक्तिलाई क्षणभरमा पक्राउ गर्न सक्छ भने दुर्घटना गराउने अपराधी प्रहरीको निगरानीभन्दा टाढा जान्छ भनेर पत्याउन सकिंदैन । तर एउटा सर्वसाधारण नागरिकका लागि त्यति कष्ट पनि गरिँदैन ।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०४९÷०५० बाट दुर्घटनाहरूको अध्यावधिक गरेको पाइन्छ । सो वर्ष झण्डै २ हजारको संख्यामा सवारी दुर्घटना भएको तथा सो आर्थिक वर्षमा ४२ जनाले ज्यान गुमाएको र झण्डै १ हजार मानिसहरू घाइते भएको तथ्यांक प्रहरीसँग रहेको छ । आर्थिक वर्ष २०७२÷७३ सम्म आइपुग्दा २४ वर्षको अवधिमा यो संख्या झण्डै तीन गुणाले बढेको छ अर्थात् गत आर्थिक वर्षमा ५ हजार ५ सय ६८ दुर्घटमामा १ सय ६६ जनाले ज्यान गुमाएका छन् भने २ सय ७५ जना गम्भीर घाइते भएका र ३ हजार ९ सय १ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । दुर्घटना संख्या, मृत्युदर तथा घाइतेहरूको संख्यासमेत हेर्दा दुर्घटना न्यूनीकरण हुनुपर्नेमा तीन गुणाले बढ्नुले नेपालमा सवारी दुर्घटना न्यूनीकरणका लागि राज्यको कमजोर प्रयासलाई पुष्टि गर्छ । चालू आर्थिक वर्ष सुरु भएपछि साउनयता झण्डै ३ हजार सवारी दुर्घटना भएका छन् । तर सरकार भने जहिले पनि सवारी दुर्घटना न्यूनीकरणका लागि ठूलै प्रयास गरिरहेको प्रचार गरेर कहिल्यै थाकेको देखिँदैन । सरकारले व्यवस्थित सडक, पैसा तिरेर चालक अनुमतिपत्र लिन सक्ने व्यवस्थाको अन्त्य, लापरबाही तथा दुर्घटना गराउने पक्षलाई कडा कारबाहीको व्यवस्था गर्न सकेमात्र पनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । जसले गर्दा सर्वसाधारण नागरिकहरू विनाकारण दुर्घटनाको शिकार बन्नु परिरहेको छ । पूर्वीय समाजमा दुर्घटनालाई नियतिसँग पनि जोडेर हेर्ने गरिन्छ अर्थात् दिन बिग्रिएकाले दुर्घटना भयो भनेर चित्त बुझाउने प्रचलन रहेको छ । तर नेपालको मामिलामा अधिकांश दुर्घटना नियतिभन्दा पनि सरकारको हेलचेक्र््याइँकै कारण हुने गरेका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
यसै सन्दर्भमा गतसाता बालुवाटारमा एउटा मोटरसाइकललाई ट्रक आकारको ट्रिपर बा. ४ ख ३२७३ नम्बरले ठक्कर दिंदा मोटरसाइकल चालक सडकमै बेहोस हुन पुगे भने ट्रिपर चालक भागेर बेपत्ता भए । बेहोस मोटरसाइकल चालकलाई ट्याक्सीमा राखेर उनकै साथीले महाराजगञ्जस्थित शिक्षण अस्पतालको आकस्मिक उपचार कक्षमा पु¥याउँछन् । त्यहाँ चिकित्सकले बेहोस युवाको अवस्था देखेर सिटी स्क्यान गर्न आदेश दिन्छन् । त्यसपछि बेहोस युवालाई सिटी स्क्यानतर्पm अक्सिजन पम्प गर्दै पु¥याइन्छ । बेहोस युवाका साथीहरू छटपटाइरहन्छन् बेहोस युवाको अवस्था देखेर । टाउकाको दाहिनेतिर चोट लागेर कानबाट रगत बगिरहेको अवस्थाबीच युवा बेहोस छन् र हातखुट्टा बेजोडले चलाइरहेका छन् । त्यस्तो अवस्थामा सिटी स्क्यान गर्ने चिकित्सकले हातखुट्टा चलाउन बन्द नभएसम्म सिटीस्क्यान गर्न नसकिने जवाफ दिएर बेहोस युवालाई लावारिस बनाइरहेका छन् । त्यही अवस्थाबीच बेहोस युवालाई भेट्न शिक्षण अस्पताल पुग्दा यो पंक्तिकारले आफ्नो छोरो छट्पटाइरहेको देख्नुप¥यो । शिक्षण अस्पतालको अवस्था देख्दा पटक–पटक स्वास्थ्य क्षेत्रको समस्यालाई लक्षित गर्दै आमरण अनशन बस्दै आएका डा.गोविन्द केसीको सम्झना आयो । आपूm कार्यरत यो अस्पतालको यस्तो दूरावस्थाप्रति डा.केसीको ध्यान पुग्न किन नसकेको होला भनेर मनमनै प्रश्न गरें । त्यहाँ सिटी स्क्यान गर्नका लागि हरेक प्रयास गर्दा पनि चिकित्सकहरूबाट सहयोग नपाएपछि मैले थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालका परिचित चिकित्सक डा.सुरेश लामिछानेलाई अवस्था अवगत गराएर शिक्षण अस्पतालमा आउन आग्रह गरे । तुरुन्तै डा.सुरेश शिक्षण अस्पताल पुगेर छट्पटाइरहेको युवालाई सिटी स्क्यान गराउने अवस्थामा पुु¥याउन अपनाउनुपर्ने विधि अपनाएपछि सिटी स्क्यान सम्पन्न भयो । त्यसपछि सिटी स्क्यानमा देखिएको समस्याबारे जानकारी दिने चिकित्सकसमेत शिक्षण अस्पतालमा उपलब्ध गर्न सकिएन । डा.सुरेशलाई आग्रह गरेर नर्भिक अस्पतालबाट एम्बुलेन्स मगाई बेहोस युवालाई नर्भिक अस्पताल पु¥याइयो । आज बुधबार यो आलेख तयार पार्न बस्दासम्म दुर्घटना भएको ६ दिन बितिसकेको छ । दुर्घटनामा परेका युवा बीएचएममा अध्ययनरत आफ्नै छोरो रोनित शाक्यको उपचार नर्भिक अस्पताललमा डा.राजीव झा र डा.सुरेश लामिछानेको टिमले गरिरहेको छ । घाइतेको अवस्था उत्साहजनक रूपले सुधारोन्मुख भइरहेको चिकित्सकहरूको भनाइले मलाई पनि उत्साहित बनाएको छ । तर प्रहरीले ट्रिपर चालकलाई अझै फेला पार्न नसकेको निरीहता प्रदर्शन गरिरहेको छ । दुर्घटनाको पीडा कस्तो हुन्छ भन्ने अनुभव हाम्रो देशका नीतिनिर्माताहरू र प्रहरी निकायका जिम्मेवार अधिकृतहरूलाई नभएसम्म सवारी दुर्घटना आम जनसाधारणलाई मात्र पीडादायी भइरहनुपर्ने कस्तो नियति हो


















