हुकुमबहादुर सिंह
संविधान कार्यान्वयनको सन्दर्भमा एउटा चरण सकिएको छ । माओवादी आन्दोलनभित्रका दुई विभाजित पक्षहरू–माओवादी केन्द्र र नया“ शक्ति सिद्धान्त, विचार र आदर्शका हिसाबमा पतीत भएका छन् । यद्यपि माओवादी केन्द्रले अझै पनि आफूलाई रूपमा माओवादी भन्न छाडिसकेको छैन भने नयाँ शक्तिले माक्र्सवादलाई समेत साम्राज्यवादको आर्थिक उदारीकरणभित्र गोलमेल बनाउने असफल प्रयास गर्दै छ । माओवादी आन्दोलनको अर्को घटक जसले आफूलाई माओवादी नभनी नेपाल कम्युनिस्ट पार्टी नामाकरण गरेको छ, ऊ पनि अब सिद्धान्त, विचार र कार्यदिशाका हिसाबमा माओवादी छैन । माओवादी आन्दोलनको अर्को बाँकी घटक नेकपा (क्रान्तिकारी माओवादी)ले भने माओवादलाई सिद्धान्त, विचार र कार्यदिशाका हिसाबमा निरन्तरता दिने भनेको छ ।
यद्यपि उक्त पार्टीमा पनि माओवादी र विचारधारको बहस सुरु गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नामाकरण गरिएको माओवादी आन्दोलनको उक्त घटकले संसदीय निर्वाचनको सशक्त बहिष्कार गर्ने भनेको छ । उक्त बहिष्कार आन्दोलनमा जनताको रुचि जागृत गर्न असफल भएपछि उसले निर्वाचित प्रतिनिधिहरूलाई दबाब दिएर राजीनामा दिन लगाउन थालेको छ र जसको पहिलो प्रयास रोल्पाको थवांग भएको छ । थवांग गाउँपालिकाको अध्यक्षलाई अपहरण गरेर राजीनामा दिन दबाब दिएको समाचार आएका छन् । उता माओवादी केन्द्र जसले थवांग गाउ पालिकाको पूरै प्यानल जितेको थियो, उसको यसबारे के प्रतिक्रिया आउने हो हेर्न बाँकी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रदेश दुईको निर्वाचनबाट पहिलो हुने दाबीसहित मधेसका जिल्लाहरूमा अड्डा जमाएर बसेका छन् तर अहिलेसम्मको परिणामले उनको सपना पूरा हुने सम्भावना कमजोर बन्दै गएको छ । उक्त प्रदेशमा कांग्रेस पहिलो हुने लक्षण देखिएको छ भने माकेले चौथो स्थान पनि जोगाउन कठिन देखिएको छ । यदि माकेको परिणाम यस्तो भएमा अहिले माकेमा आउन हतारिएका मधेसी नेताहरू दानमा आएका बाहुनका गाईजस्ता हुन्े छन् । दाम्लोमा बानुन्जेल बाहुनको गोठमा दाम्लो फुकाइदिएपछि जहाँबाट दानमा आएका थिए उतै प्रस्थान ।
माओवादी केन्द्र वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था तथा संविधानको बलियो पक्षधर देखिएको छ भने उक्त राज्यसत्ता, व्यवस्था तथा संविधानको बलियो प्रतिपक्ष पनि माओवादी आनदोलनका अन्य घटकहरू– नेकपा (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टी देखिएका छन् यसरी भविष्यमा माओवादी आन्दोलनका घटकहरू बीचमा नै नमीठो संघर्ष हुने र विगतका संसदवादीहरू गालामा हात राखेर माओवादी आन्दोलनका विभाजित समूहहरूबीचको मूठभेटलाई आनन्दसाथ अवलोकन गर्ने अनौठो परिस्थिति आउने सम्भावनालाई नकार्न सकिँदैन । यसको सुरुवात नेकपाले थवांगबाट गर्दै छ, माकेका निर्वाचित प्रतिनिधिलाई अपहरण गरेर । प्रचण्डको उग्र विरोध गर्ने उक्त समूहले विगतका गलत तौरतरिकाहरूलाई नै निरन्तरता दिनेका रुचि राखेको देखिएको छ । केही दिनअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले आफ्नो अन्तर्वार्तामा राजतन्त्रको प्रशंसा गरेका र अन्य राजनीतिक दलहरूको विरोध गरेका थिए, जसले विगतका राजावादीहरूलाई अवश्य पनि खुशी पार्ने काम गरेको छ । उनले के बुझ्नु आवश्यक छ कि उनको कार्यदिशा समाजवादी क्रान्ति र सत्ता साझेदारी प्रचण्डसित मिल्छ तर उनी माकेको चर्को विरोध किन गर्दै छन् । विगतमा नेपालमा राजाको नेतृत्वको राज्यसत्ता जो सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्गको हातमा थियो, त्यसलाई प्रशंसा गरेर वर्तमानको पनि उही वर्ग– सामन्त, दलाल तथा नोकरशाही पु“जीपति वर्गको हातमा भएको सत्ताको अन्त्य कसरी सम्भव छ, त्यसको सही उत्तरको खांचो छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले के स्पष्ट पार्नु आवश्यक छ भने जबसम्म नेपालको राज्यसत्ता दलाल तथा नोकरशाही पुँजीपति वर्गको हातमा रहन्छ अथवा दलाल तथा नोकरशाही पुँजीवादले पुरानै राज्यसत्ता र देशमा साम्राज्यवादी÷विस्तारवादी उत्पीडन जारी रहनेछ, त्यो विगतको राजतन्त्रको प्रशंसा वा वर्तमानको नेपाली सेना तथा सशस्त्र र जनपद प्रहरीको साथ र सहयोगको अपेक्षाबाट सम्भव छैन । त्यो उनको सत्ता साझेदारीका लागि उपयोगी होला तर सर्वहारा क्रान्तिका लागि नकारात्मक नै ठहर्नेछ । [email protected]














