दश वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने प्रचण्डको दाबी

136

कोहलपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी दश वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने बताएका छन्।

आइतबार कोहलपुरमा आयोजित माओवादी घटकबीचको ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित भइसकेको र केही दशकभित्रै नेपालमा साम्यवाद स्थापित गर्ने कार्यदिशाअनुसार माओवादी अगाडि बढिरहेको दाबी गरे।

कार्यक्रममा उनले शान्ति प्रक्रियायता विभिन्न अभ्यासका लागि माओवादी घटक विपरीत ध्रुवमा विभाजित भएपनि पछिल्लो समय केन्द्रीकृत हुने क्रम बढेको भन्दै खुसी व्यक्त गरे ।

पार्टी टुटफुट भएकै कारण जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गइरहेको अवस्थामा सबै माओवादी घटक एकै ठाउँमा ध्रुवीकरण हुनुको विकल्प नरहेको उनले दाबी गरे । उनले भने, “कालान्तरमा वैद्य, विप्लव र बाबुरामलगायत अन्य नेतृत्व पनि माओवादीकै आन्दोलनमा समाहित हुन आउँछन्। त्यो मलाई विश्वास छ ।”

हालै सम्पन्न २ नं प्रदेशको निर्वाचनमा माओवादीले सन्तोषजनक जित हासिल गरेको बताउँदै उनले देशैभरि माओवादीप्रति व्यापक जनलहर उर्लिंदै गएको उल्लेखसमेत गरे। प्रचण्डले भने, “हाम्रो लहरको पछिल्लो उदाहरणका रुपमा २ नं प्रदेशको चुनावलाई हेर्न सकिन्छ । अबको प्रदेश र केन्द्रीय निर्वाचनमा माओवादीले ०७४ सालकै नतिजा फर्काउनेमा ढुक्क रहनुहोस् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here