देवी, देवता र भगवान्को जन्मपत्री बारे केही कुरा

430

चन्द्रप्रकाश बानियाँ
म्याग्दी जिल्लाको सदरमुकाममा “कुरिला महारानी” नामबाट लोकप्रसिद्ध देवीको स्थान (माडौं) अवस्थित छ । मुख्य व्यवसाय कृषिकर्म र पशुपालन रहेको तत्कालीन नेपाली समाजमा उधौली उभौंलीमा गोष्ठदेवतालाई गोठधूप दिने चलन थियो । कुरिलाखर्कमा गोठराख्ने गोठालाहरुले गोठधूपको बेलामा कुरिला महारानीलाई पनि सम्झने परम्परा बसाले होलान् । प्रारम्भमा गोठालाहरुको मात्र गोठधूप पाउने तिनै कुरिला महारानी कालक्रममा सबैकी पूज्या बनिन् । देवीमाता कहलिइन् । अब त मान्छेले कुरिलालाई देवी मात्रै होइन, भगवती नै मानेर भाकल मनितो गर्न थालेका छन् । काम लिनका निमित्त जोसुकैको पनि अतिप्रशंसा गर्ने परम्परा वेदकालीन समाजबाटै सुरु भएको हो । संसारकै सबभन्दा जेठो ग्रन्थ भनेर मानिएको ऋग्वेद देवीदेवताका स्तुति, प्रशंसा, प्रशस्ती र प्रार्थनाहरुको संकलन हो । भन्नका लागि त ऋग्वेदलाई वेदकालीन इतिहासको अभिलेख हो भनेर पनि मानिन्छ । तर, भुसको थुप्रोबाट भङ्गेराले कनिका बिनेझैं विभिन्न देवीदेवताका स्तुतिहरुमा परेका संक्षिप्त तथा आधाअधुरा वैदिक कथनहरु (ऋचा)बाट उधिनेर इतिहास र परम्पराहरुका अंशप्रमाणहरु निकाल्नुपर्छ । सीमित तथ्यका आधारमा वास्तविकताको अनुमान लगाउनुपर्ने हुन्छ । इतिहासको सिलसिलेवार विवरण ऋग्वेदमा छैन ।
कुरिला महारानीलाई भगवती दुर्गाकै समकक्षमा राखेर अभ्यर्थना गर्नु सेवाग्राहीले “हाकिमसा’ब” भनेर जिल्लाप्रशासनको नागरिकता फाँटमा कार्यरत मुखिया खरिदारलाई सम्बोधन गर्नुजस्तै हो । सेवाग्राहीको चाकडी चाप्लुसीयुक्त सम्बोधनले कामदारलाई फुरुङ्ग बनाउँछ । सेवाग्राहीको त्यस्तो संबोधन चिप्लो बोलीकै भरमा काममा सहुलियत मिल्छ भने आधातोलाको जिब्रो फट्कार्न किन कञ्जुस्याइँ गर्नु भन्ने मनोविज्ञानको परिणाम हो । ढ्याङ्ग्रो ठोकेर ओखा गाउँदै गरेको झाँक्री (डाङ्ग्रे) समक्ष मान्छेले “लौ परमेश्वर, रोगीलाई कस्तो खालको दुःख बिमार वा लागोभागो लागेको हो, राम्रोसँग खुट्ट्याई दिनुप¥यो” भनेर निहोरा गर्छ । झाँक्रीको शरीरमा उत्रेको आत्मा परमेश्वर त के देवता पनि होइन भन्ने कुराको जानकारी सबैमा हुन्छ नै । अकालमृत्यु प्राप्त गर्ने मान्छेको आत्माले मुक्ति पाउँदैन र अनन्तकालसम्म वायुमण्डलमा भौतारिँदै रहन्छ । त्यही मृतात्मा कुनै ज्युँदो मान्छेको शरीरमा चढेर बोल्छ । नराम्रो अर्थमा भन्ने हो भने त्यसरी ज्यूँदो मान्छेको शरीरमा उत्रेर बोल्ने आत्मा “प्रेत” हो । बोक्सी मरे “डाइनो”, सज्जन मरे “वायु” बन्छन् पनि भनिन्छ । समाजको मान्यता यही हो । तिनै मुक्त हुन नसकेका भनिएका आत्माहरु कुनै मान्छेको शरीरमा उत्रेर बोल्न थाले भने तिनीहरुलाई देवता, भगवान् वा परमेश्वर भनेर फुक्र्याउने गरिन्छ । वास्तवमा त्यो त मान्छेको शरीरमा देवीदेवता चढेर बोल्छ भन्ने घोर अन्धविश्वास हो र त्यही अन्धविश्वासी मान्यताले मनोकामना सिद्धिको स्वार्थवश मान्छेलाई चाप्लुसीको भाषामा बोल्न लगाएको कुराको अब्बल नमूना हो भन्दा फरक पर्दैन । अर्थात् होइन भन्ने जान्दाजान्दै स्वार्थवश डाँग्रे अर्थात् “कन्भर्जन डिस्अर्डर”को बिरामीलाई परमेश्वरको पगरी दिइएको मात्र हो ।
देवी महारानी भनेर पुजिने कुरिलाखर्ककी महारानी अठारौं शताब्दीमा आत्महत्या गर्न विवश बनेकी पर्वराज्यकी अधिराजकुमारी (राजाकी माहिली बुहारी) थिइन् भनिन्छ । उनको मृत्युकाल वि.सं. १७७४÷७५ तिरको हो भनेर मानिने भए पनि कुरिलाखर्कमा उनको पूजा गर्ने चलन कहिलेदेखि सुरु भएको भन्ने कुराको कुनै तथ्य जानकारी समाजसँग छैन । पछिल्लो कालखण्ड, अर्थात् ५÷६ दशक अघि गोरक्षाका निमित्त उधौली उभौली याममा नियमित पूजा दिने चलन स्वर्गीय तुलबहादुर बाँडाले सुरु गरेका हुन् भनिन्छ । कुरिला महारानीको आत्मामा साँच्चिकै कुनै दैवी शक्ति भएको हुनाले हो अथवा कुनै खण्डखातिरवश आफ्नो स्वामित्वमा आएको जग्गामा कुनै कालखण्डमा महारानीले आत्महत्या गरेको किम्वदन्ती सुनेका हुनाले सम्भावित हानिनोक्सानीको अज्ञात भयत्रासवश पूजा दिएर मनाउने मन्साउने गरेका हुन पनि सक्छन् । तुलबहादुर बाँडा जीवित नरहेका हुनाले त्यसको वास्तविकताको जानकारी प्राप्त गर्न सकिने सुविधा अब उपलब्ध छैन ।
कुरिलाखर्क एउटा ऐतिहासिक ठाउँ भने अवश्य हो । पर्वत राज्यकालमा त्यस ठाउँमा अतिथिशाला थियो भनेर पर्वतका इतिहासविज्ञ स्व. मोहनबहादुर मल्लले आफ्ना कैयौं लेखोटहरुमा उल्लेख गरेका छन् । राजकीय अतिथिशाला रहेको कुरिलाखर्क सार्वजनिक (सरकारी) स्वामित्वमा रहनुपर्ने हो । दुर्भाग्य के रहिदियो भने पर्वराज्यको पतनपछि पर्वत दरबारले चर्चेका जग्गाजमिनहरुको उचित संरक्षण हुन सकेन र कालक्रममा ती जग्गाजमिन र ऐतिहासिक धरोहरहरु व्यक्तिविशेषका नाममा दर्ता हुन गए । कुरिलाखर्कको जमिन पनि त्यसरी नै व्यक्तिको नाममा दर्ता हुन गएको होला ।
तत्कालीन पर्वतराज्यका तर्फबाट आफ्ना पति र पुत्र अन्यायपूर्वक मारिएर पुख्र्यौली जागीर समेत खोसिएपछि शोकाकुल र विक्षिप्त बनेकी विश्वमाताले कुरिलाखर्कमा आत्महत्या गरेकी (अलप भएकी) हुन् भन्ने जनविश्वास रहेको छ । प्रारम्भमा गोठालाहरुले सुरु गरेको महारानीको प्रेतात्मालाई धूपअक्षता मन्साउने परम्पराले विस्तारै विस्तारै सबैका सबैखाले कामना पूरा गरिदिने देवीको पूजा आराधनाको रुपमा समाजमा मान्यता पाउँदै गयो । मल्लवंशकी “डाइनी सबैकी देवी महारानी” बनिन् भनेर बुढापाकाहरुले भन्ने गरेको सुनिन्थ्यो । अब त तिनै महारानीको देवीमातामा मात्र होइन, भगवती माईमा समेत स्तरोन्नति भैसकेको छ । “बोक्सी मरेपछि डाइनी बन्छन्” भन्ने मान्यता समाजमा विकसित भएको हुनाले कुरिला महारानीलाई डाइनी भनिदिँदा कसैलाई नराम्रो लाग्न सक्छ । रिस उठ्न पनि सक्छ । तर वास्तविकता त के हो भने बोक्सी आफैँ समाजमा विद्यमान एउटा नितान्त भ्रान्त मान्यता हो । कुनै महिलाविशेषमा नकारात्मक शक्ति हुन्छ भन्ने मान्यता अब पुरानो भैसक्यो । अबको समाजले महिलाहरु बोक्सी हुन्छन् भन्ने कुरा पत्याउन छोडिसक्यो । बोक्सीको अस्तित्व नै नभएपछि डाइनी बन्ने प्रश्नै उठेन । जहाँसम्म डाइनी भन्ने शब्दको कुरा हो त्यो एउटा “सम्मानित सम्बोधन” हो । त्यसको व्युत्पत्ति संस्कृतको देव÷देवी बाट भएको हो । संस्कृतको देव÷देवी लाई अंग्रेजीमा “म्भ्क्ष्त्थ्” डाइटी भनिन्छ । अनेकन युरोपियन भाषामा देवता जनाउने शब्दहरु जस्तोः म्भष्तथ, म्बलष्भ,ि म्ष्खष्लभ आदि त्यसैबाट बनेका हुन् । खस (नेपाली) भाषा पनि सतम समुदायमै पर्दछ । त्यसैले डाइनी पनि त्यही म्भष्तथ परिवारकै सदश्य हो भन्ने स्वतः प्रमाणित हुन आउँछ । अर्थात् डाइनी राम्रो अर्थमा प्रयुक्त हुने शब्द हो । त्यसैले कुरिलाखर्के महारानीलाई “डाइनी नै हुन्” भन्नु पनि गलत हुँदैन ।
डाइनी वा डाइनो भनेको देवी वा देवता जनाउने शब्दहरु नै हुन । मरेर डाइनी वा डाइनो हुने आत्माहरु कसरी देवी र देवता मानिन्छन् भन्ने कुराको अलिकता खोजीनीति र चर्चा गर्नतिर लाग्नु ठीक होला । लोकव्यवहारमा परमेश्वर, भगवान्, भगवती, देवी र देवताबीच भेदभाव गरिँदैन । अर्थात् सबैलाई एकैडालोमा राखेर स्तुति वा पूजा गरिन्छ । वास्तवमा ईश्वर, भगवान् र देवता पर्यायवाची भए पनि समानार्थी शब्दहरु भने होइनन् । कसैले जानिबुझिकन अतिप्रशंसाको रुपमा यी शब्दहरुको प्रयोगमा गडबड गरिदिन्छन् भने कसैलीई यी तीनवटा शब्दहरुबीचको अन्तरको ज्ञान रहँदैन । त्यसैले मुखियालाई सुब्बासाहेब र सिपाहीलाई हल्दारसा’ब भनेजस्तै ईश्वर, भगवान् र देवताबीचको अन्तर केलाउन सक्तैनन् ।
सबै धर्मसंस्कृतिमा ईश्वरलाई चराचर जगतको सृष्टिकर्ता मानिन्छ । क्रिश्चियन धर्मका “गड”, मुश्लिमहरुको “अल्लाह” र हिन्दूधर्मका “ईश्वर” एउटै कोटिका सम्बोधनहरु हुन् । चराचर जगतको सिर्जना, सञ्चालन र नियन्त्रण गर्ने परमेश्वर परमात्मा निराकार, सर्वव्यापक र सर्वशक्तिमान् रहन्छन् भन्ने धार्मिक मान्यता रहन्छ । परमेश्वर, अल्लाह वा गड भनेर मानिने ईश्वर जन्ममृत्युबाट मुक्त हुन्छ । अर्थात् ईश्वर भनेको अजन्मा र नित्य हुन्छ । त्यो जन्मने मर्ने गर्दैन । त्यसको कुनै निश्चित रुपआकृति पनि हुँदैन । त्यही अविनाशी र सर्वव्यापी तत्वलाई परमात्मा परमेश्वर भनेर धर्मग्रन्थहरुले परिभाषित गरेका हुन् ।
भगवान् दोस्रो कोटिमा गनिन्छन् । अँग्र्रेजी भाषामा भगवान्लाई गड भनिँदैन, लर्ड भनिन्छ । भगवान्हरुको निश्चित रुप आकृति हुन्छ । तिनीहरुको जन्ममृत्यु पनि हुन्छ । जीवनकालमा असाधारण चमत्कार गरेर मानवसमाजलाई अनुगृहित गराउने र दिग्दर्शन गर्ने महान आत्माहरुलाई भगवान्को दर्जा मिल्छ । उनीहरुमा अतिमानुषिक शक्ति रहने भएको हुनाले त्यो क्षमता लोककल्याणमा लगाउँछन् । हिन्दूधर्मका शिव, विष्णु, राम, कृष्ण, परशुराम, बुद्धधर्मका शाक्यमुनि सिद्धार्थ गौतम, महावीर जैन, मुश्लिमधर्मका मोहम्मद र किश्चियन धर्मका यशु ख्रिष्ट आदि यो कोटिमा पर्दछन् । हिन्दू धर्ममा यो कोटिमा भगवती, दुर्गा, गौरी आदि महिलाहरु पनि सामेल छन् ।
तेस्रो श्रेणीमा देवी÷देवताहरु पर्दछन् । अँग्रेजी भाषामा देवी देवतालाई “डाइटिज” भनिन्छ । हरदम मानवसमाजको सेवामा समर्पित रहने मानिसहरु जो भगवान्को कोटिमा उक्लने क्षमता भने राख्दैनन् तिनीहरुलाई देवी÷देवता भनिन्छ । त्यसैले तिनीहरुको संख्या पनि निकै ठूलो हुन सक्दछ । हिन्दू धर्ममा त देवीदेवताहरुको संख्या तेत्तीसकोटी छ भनेर पनि मानिन्छ । आज पनि असल चरित्र र भलाद्मी स्वभावको मानिसलाई समाजले “देवता” भनेर आदर सम्मान गर्छ । प्रशंसा गर्छ । हरेक कालखण्डमा त्यस्ता असल मानिसहरु जन्मँदै रहन्छन् । आत्मा, परमात्मा र जीवनको निरन्तरता (पुनर्जन्ममा) विश्वास गर्ने पुरानो समाजमा असल मानिसहरुका मृतात्माहरु समेत मानवसेवामा जुटिरहन्छन् भन्ने मान्यता स्थापित गरिएको कारणले मरेका मानिसहरुलाई समेत देवता मान्ने गरिएको हो । भगवान् र देवतामा अथवा भगवती र देवीमा कति फरक छ भन्ने कुरा हिन्दू धर्मदर्शनको अलि गहिरो अध्ययन गर्दा स्पष्ट हुन्छ ।

जस्तो कि शिव र विष्णु भगवान् मानिन्छन् तर देवताका राजा इन्द्र भगवान् मानिँदैनन् । सृष्टिकर्ता भनिएका ब्रह्मा पनि भगवान् मानिँदैनन् । ती दुवै देवता मात्र कहलिन्छन् । दुर्गा भवानी “माता भगवती” मानिन्छिन तर सरसस्वी केवल देवी मात्र मानिन्छिन् । सरस्वतीलाई भगवती भनेको कतै भेटिँदैन । हो, त्यही प्राचीन मान्यताका आधारमा कुरिला महारानीले पनि देवीको लोकमान्यता पाएकी हुन् । अर्थात् कुरिला महारानीलाई “देवी” भन्नु गल्ती हुँदैन तर भगवती वा भवानी भन्न भने किमार्थ मिल्दैन । पछिल्लो समयमा “पाथीभरा माता” भनेर चर्चित भएकी देवीलाई पनि त्यही कोटीमा गणना गर्न सकिन्छ ।

(-स्वाभिमान नेपाल मासिकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here