पृथ्वीनारायणबाट एकीकृत हिन्दू अधिराज्यसँगै नेपालको सार्वभौम गाँसिएको छ

385

पृथ्वीनारायण शाहबाट विक्रम संवत् १८२५ अर्थात् सन् १७६८ मा काठमाडौं उपत्यका विजय गरेर विशाल नेपालको सिर्जना गरिएको समयभन्दा सय वर्षपछि सन् १८६८ मा टुक्राटुक्रामा विभाजित जर्मनी, इटाली एकीकरणमा जुटेका थिए । सन् १८६८ अगाडि जापान सोगुनहरुको जहानियाँ शासनबाट ग्रसित थियो । सन् १८६८मा मेजी रेष्टुरेसनको नाममा राजा र जनताको प्रयासमा जापानले खुला बाटो लियो । नेपालको एकीकरण भइसकेपछि पनि फ्रान्स निरंकुश राजतन्त्रबाट थिचिएको थियो । अमेरिका बेलायती उपनिवेशबाट जकडिएको थियो । यस्ता कैयौं देशहरु अन्धकारमा रहेका बेला पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर यो क्षेत्रको अस्मिता बचाउने काम गरेका हुन् । अंग्रेजले यस क्षेत्रलाई आफ्नो कब्जामा लिएर यहाँका पहिचानहरु चकनाचुर पारी आफ्नो साम्राज्य स्थापना गर्न लागिरहेको अवस्थामा सूर्य र चन्द्रमाको झण्डा फहराएर हिमवत्खण्डको मौलिकतालाई जोगाउनु सामान्य कुरा थिएन । वि.सं.१८०० मा पृथ्वीनारायण शाहले बनारस भ्रमण गरेका बेला अंगे्रजले भारतीय परम्परा र संस्कृति ध्वस्त पार्दै भारतीय जनतालाई कुट्ने मार्ने र जहीतहीं लुटपाट मच्चाउने, अनेकौं प्रकारले सताउने काम गरेको जानकारी पाएकाले अंग्रेजहरुले यस क्षेत्रमा कब्जा जमाए भने यस क्षेत्रको के हाल होला भन्ने कुराले उनलाई सताएको थियो । औरंगजेवले वि.संं. १७२६मा भत्काएको विश्वनाथको मन्दिरको जीर्णोद्धार नभइरहेको अवस्थामै वि.सं.१८०० मा पृथ्वीनारायण शाहबाट बनारसको भ्रमण हुँदा विश्वनाथ मन्दिरको विभत्स दृश्य देखेर उनी अत्यन्त दुःखित भए । यसबाट उनलाई हिन्दू अस्मिता र हिन्दू राज्यहरुको संरक्षण गर्नुपर्ने आवश्यकताको प्रेरणा मिलेको थियो ।
पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्नुभन्दा अगाडि यस क्षेत्रमा भएका अनेकौं साना राज्यहरुका जनता अत्यन्त निरंकुश शासनमा जकडिएका थिए । राज्यमा केही कुरामा उचनिच भयो भने, कुनै पहुँचवालाले पोल लगाइदियो भने काटिनुपर्ने र कोही छिरिक्क बोल्न नपाउने स्थिति थियो । हिमवत्खण्डका साना राज्यहरुमा कुशासनको पराकाष्ठा नाघेको थियो । कीर्तिपुरको विजयपछि पृथ्वीनारायण शाहबाट अत्यन्त सशंकित भएर कान्तिपुरका जयप्रकाश मल्लले अंगे्रजी फौजको सहायता मागे । अंगे्रजहरुलाई पनि ‘के खोज्छस् कानो– ‘आँखो’ भनेको जस्तो कप्तान किनलकको नेतृत्वमा २४०० अंगे्रज सेना जयप्रकाशको सहायतार्थ पठाउने काम गरे । त्यसबेला पृथ्वीनारायण शाहले– ‘गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन् । फिरङ्गी भनेको ब्वाँसो हो । जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो । तर फिरङ्गी भनेको अर्कै हो’ भनेर बताएका थिए । तर जयप्रकाशले बुझ्न नसकेको भन्दै अंगे्रज फौजलाई लखेट्न सारा शक्ति प्रोत्साहित गराइएको थियो । यस लडाइँमा सेनापति रामकृष्ण कुँवर, रामचन्द्र प्रसाईं, वंश गुरुङ, काजी वंशराज पाण्डे, वीरभद्र, जयनारायण मगर आदिहरुको संयुक्त प्रयासमा १६०० अंगे्रज फौजहरु मारिए र ८०० सेना लिएर कप्तान किल्लक भागे । यसरी अंगे्रजहरुलाई लखेटेपछि काठमाडौं उपत्यका कब्जा गर्न पृथ्वीनारायण शाहलाई सजिलो भयो र वि.सं. १८२५ असोजमा इन्द्रजात्राको दिन झयागल गुरुङको प्रयासमा रक्तपातविना काठमाडौंमा पनि विजय हासिल भएको थियो । यसरी नेपालको एकीकरण चार जात छत्तीस वर्णका मानिसहरुको संयुक्त प्रयासको प्रतिफल थियो । पूर्वतर्फ हिन्दूपति सेनवंशी राजवंशको आपसी झगडाले विस्थापित हुनलागेको अवस्थामा राई, लिम्बू, किरातीहरुले अंगे्रजको उपस्थितिभन्दा हिन्दू राजाकै संरक्षणलाई स्वीकारेकाले नेपालको सीमाना पूर्व टिष्टासम्म पुग्यो । सबै जातका सपूतहरुको सहयोगमा पृथ्वीनारायण शाहबाट थालनी भएको महायक्ष हो ।
हामी नेपालीहरु हाम्रा देशका गौरवमय परम्परा र मान्यताले गौरवान्वित छौं । हिमवत्खण्ड नेपाल हिन्दू तथा बौद्धको आधिकारिक थलो हो । पूर्वमा ब्रह्मपुत्र पश्चिममा हिन्दूकुश, उत्तरमा कैलाश–मानसरोवर र दक्षिणमा गंगासम्मको भूभागलाई नै ‘हिमवत्खण्ड’ भनिन्छ भने गंगादेखि हिन्द महासागरसम्मको भूभागलाई भारतखण्ड भनिन्छ । संसारमा हिन्दू अस्मिता बोकेका राष्ट्रहरुमा ‘हिमवत्खण्ड नेपाल’ र ‘भारतखण्ड’ हुन् । यी दुवै राष्ट्रबाट विश्वभर हिन्दू दर्शन, संस्कृति र सभ्यताको विस्तार भएको हो । वैदिक–हिन्दूसभ्यता विस्तार गर्ने क्रममा ऋषिहरु भन्थे– ‘कृण्वन्तो विश्वमार्यम्’ अर्थात् विश्वलाई सभ्य बनाऔं । प्राचीन समयदेखि हिमवत्खण्ड नेपाल तथा भारतको सभ्यतालाई विश्वले ठूलो महत्व राख्दै आएको छ । हिमवत्खण्ड नेपाल तथा भारतबीचमा युगौंयुगदेखि गहन तादात्म्य छ । इतिहासविद् योगी नरहरिनाथले उल्लेख गर्नु भएको छ– ‘कैलाश–मानसरोवरदेखि हिन्द महासागरसम्म जसको राज्य र घर छ त्यो हिन्दू हो । सभ्यता विकासमा विश्व जगज्जेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु यहीं जन्मेका, वेद यहीं जन्मेका, उपनिषद् तराईमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उद्देश्य हो ।’ यही हिसाबले नेपाल तथा भारत हिन्दूहरुको लागि पवित्र पूण्यभूमि मानिन्छ । विदेशी अतिक्रमणको कारणले भारतमा हिन्दूअस्मिता नष्ट गराउने काम भयो । तर, गोरखाका राजा पृथ्वीनारायण शाहको सक्रिय नेतृत्व र उनीपछि उनका कान्छा छोरा बहादुर शाहको सक्रियतामा स–साना टुक्राहरुमा विभाजित हिमवत्खण्डका ५४ स–साना हिन्दू राज्यहरुको एकीकरण गरेर समयमै हिन्दू र बौद्धहरुको सार्वभौम अस्तित्व र प्रतिष्ठा जोगाएर विश्वको एक मात्र हिन्दू अधिराज्यको रुपमा विशाल नेपाल स्थापित हुन पुगेको हो । त्यसैले यो भूमि कहिले पनि बिटुलो भएन ।
स्मरणीय कुरा छ कि राष्ट्रिय एकीकरणको सन्दर्भमा नेपालको सिमाना मकवानपुरदेखि टिष्टा नदीसम्म सेनवंशी हिन्दूपति राजाहरुको राज्य भएकाले पुगेको थियो । त्यो बीचमा लिम्बू, राई र किपटीयाहरु असन्तुष्ट भएकाले केही समय संग्राम पनि हुन गएपछि सम्झौता भयो । त्यसबेलाको विषयलाई लिएर स्व. इमानसिंह च्याम्जुङले किरातकालीन विजयपुरको इतिहासमा उल्लेख गरेका छन् कि वि.सं. १८३१ साउनमा– ‘हामी किरातवंश सत्धर्ममा मन राखी गोर्खावंशसँग एकैवंश भई मिल्नेछौं ।’ यो यथार्थलाई मनन गर्दा राज्यको बनोटमा यसरी सहिष्णुता र राष्ट्रियताको बनोटको इतिहास हाम्रो छ । यसैको सिलसिलामा प्रा. जगमान गुरुङले लेख्नुभएको छ– ‘नेपालमा गुरुङ, मगर, राई, लिम्बू आदि जनजातिका मानिसहरुले राजतन्त्र र हिन्दू राष्ट्रको आडमा कोटको उमरा, मौलोको मुखिया, गढीगौंडाको द्वारे एवं जिम्मावाल जस्ता उच्चपद ओगटेका थिए ।’ अघि राजा यशोब्रह्म शाहले– ‘तिमी गुरुङहरुले अघिदेखि मानी आएको रीतिस्थिति पनि मान्नु, ब्राह्मणले गर्नुपर्ने काम उपाध्याय ब्राह्मणबाट गराउनू’ उल्लेख गरेका थिए । जातीय एकात्मकता र सांस्कृतिक सहिष्णुताको कारणले नेपालको एकीकरण भएपछि कुनै पनि जाति, थरले परदेशी वा दोस्रो दर्जाको निरीह रैती जस्तो भएर शासकपक्षबाट पेलिएर, आँशुका धारा बगाएर खुम्चिएर बस्नु परेन ।
तर नेपालको अस्मिता बिटुलो नगरिराखुञ्जेलसम्म क्रिस्चियनहरुले यो भूमिमा खुट्टा घुमाउन नसक्ने देखेर यही भूमिमा जन्मेका कांग्रेसका दलालहरुलाई प्रयोग गरेर एकछत्ररुपमा यो भूमिमाथि कब्जा गर्न चाहेका छन् । उनीहरुले पैसाको बलमा यहींका दलालहरुलाई प्रयोग गरेर नेपाललाई धर्मनिरपेक्ष घोषणा गराए । माओवादीभित्र धेरैजसो क्रिश्चियन भएकाले उनीहरुमार्फत नेपालको अस्मिता तोड्न सरिक गराइयो । सत्तामा आएका बेलादेखि नैं राष्ट्रिय एकता दिवस मनाइएन । जनयुद्धकालमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक ढान्न लगाउने र गाउँगाउँमा गाई काट्न लगाएर देशभक्त नेपालीलाई आतंकित बनाउने पनि बाबुराम भट्टराईकै निर्देशनमा भएको थियो । जनआन्दोलनपछि भारतीय गुप्तचरको इशारामा बाबुराम भट्टराईले नै दबाबमा राष्ट्रिय एकता दिवस खारेज गराइएको थियो । २०६८ भदौदेखि यिनै क्याथोलिक बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि एकपछि अर्को गर्दै नेपाली जनताबीचको एकता भङ्ग गराउँदै नेपालको सार्वभौम मान्यता तोड्दै विदेशीको चासोबमोजिम काम गरे । सरकारी स्तरबाट गरिबी निवारण कोष संस्थापन गराएर इसाईहरु र धर्मपरिवर्तन गरेकाहरुलाई रकम बाँडियो र अझै बाँडिदै छ । बाबुराम भट्टराई पनि गोर्खाको एकनाथ ढकाल पनि गोर्खाको भएको र यी दुवै क्रिश्चियन भएको नाताले बाबुराम भट्टराईले एकनाथ ढकाल जस्तो दलाललाई गरिबी निवारणमन्त्री बनाएर क्रिश्चियनहरुलाई छानी–छानी पैसा बाँड्ने काम गरियो ।
यो स्वर्णभूमि माथि आक्रामक बनेका नेपालका दलालहरु एकपछि अर्को गर्दै सार्वजनिक हुँदै छन् । नेपालको प्राचीन सभ्यताको कुरा उठाउँदा विश्वका सभ्यताहरुमा यही भूभागलाई नैं सभ्यताको उद्गम मानिन्छ । कैलाश–मानसरोवरदेखि गंगासम्मको हिमवत्खण्डको यो भूभाग एक समृद्ध सभ्यताको मूल हो । नेपालमा अनादिवासी, आदिवासी र आप्रवासी तीन प्रकारका बासिन्दाहरु छौं । अनादिवासी, आदिवासी र आप्रवासी अनादिकालदेखि नै ऋषिमुनीहरुको अथक चिन्तन र प्रयत्नबाट वेद, उपनिषद्, पुराण, रामायण, अनेकौं धर्मशास्त्र, राज्यका विधिविधान र सिद्धान्तहरु कैलाश–मानसरोवरदेखि गंगासम्मकै भूभागमा सिर्जिएका हुन् । यसक्षेत्रबाट सभ्यताको विकास र विस्तार गर्नमा ऋषिमुनीहरुको महान् देन छ । सप्त ऋषिहरु ब्राह्मण र क्षेत्रीहरु नै भएता पनि किरातीहरुका ऋषि ‘आकुुनी’को नाम पनि वेदमा पाइन्छ । तिनै ऋषिहरुको नामबाट विभिन्न जातिहरुको गोत्र चलेको छ । किरातीहरुको गोत्र काश्यप, कासी, भारद्वाज आदि हो । जुन ऋषिका सन्तान थिएन, उनको गोत्र पनि चलेन ।
हिमवत्खण्ड नेपालमा कुनै पनि ऋषिमुनीहरु– कस्यप, भारद्वाज, विश्वामित्र,कौसिक, वशिष्ठ, मैत्री, गौतम, जमदग्नी, सप्तऋषिहरु, ‘नेमुनीे’, परशुराम, उपमन्यु, मौद्गल्य, शाण्डिल्य, मरिची, अंंगिरा, गार्गी, याज्ञवल्क्य, मैत्रेयी, व्यास, पुलह, भृगु र माण्डवजस्ता यस्ता सैयौं ऋषिहरुको तपोभूमि, कर्मभूमि हो– यो हिमवत्खण्ड नेपाल । वेद् उपनिषद्, पुराणहरु यही क्षेत्रकै उपज हुन् । वाल्मीकि ऋषिले चितौनको वाल्मीकि आश्रममा बसेर रामायण लेखेका थिए । जनक राजाले मिथिला क्षेत्रमा हजारौं वर्ष अगाडि सभ्यताको विकास गरे । मैत्रेयी र याज्ञवल्क्य जस्ता महान् ऋषिहरुले वेदका ऋचा लेखेका थिए । २३ सय वर्ष अगाडि अशोकले यस क्षेत्रका सभ्य र सुसंस्कृत क्षेत्री वंशका देवपालसँग आफ्नी छोरीे चारुमतीलाई विवाह गराएका थिए । वशिष्ठ ऋषि रामका गुरु थिए । उनको वासस्थान देवघाट– वशिष्ठ गुफामा थियो । अहिले पनि हामीहरु वशिष्ठ गुफा देख्न सक्छौं । वशिष्ठ ऋषिले वशिष्ठ उपनिषद्मा हिमवत्खण्डको विषयलाई लिएर– “भारतवर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि” भनेको कुरालाई हृदयंगम गर्दा यो क्षेत्र कति महान् छ भन्ने कुरा बुझिन्छ । कालीदासले पनि कुमार संभवको पहिलो श्लोकमा “हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्म नै यो आर्यभूमि हो” भनेर पुष्टि गरेका छन् ।
‘कृर्वन्तो विश्वमार्यम्’ विश्वलाई नै सभ्य बनाऔं भन्ने ऋषि महर्षिहरुको उद्घोष थियो । जहाँ विश्वका कैयौं देशहरुमा ऋषिहरु र वेत्ताहरुबाट वैदिक ज्ञान व्यापक बनाउन खोजिएको र यही भूखण्डबाट विश्वव्यापीरुपमा सभ्यताको विकास भएको थियो । हिन्दू र बौद्ध बीचमा फाटो ल्याएर फिरङ्गी–क्रिश्चियनहरुले नेपालमा आफ्नो अखडा जमाउन खोजेका छन् । कतिपय बुद्धिष्ट विद्वान्हरुले नबुझेर हिन्दू र बौद्धमाथि फुट ल्याउने आत्मघाती काम गरेका छन् । अहिले नेपालमा चीन र भारतको बीचमा सन्तुलन कायम गर्ने शक्तिको अभाव भएपछि भारत र चीनको आपसी तानातान र क्रिश्चियनहरुको बोलावाला बढेर यस क्षेत्रका हिन्दू तथा बौद्धहरु एकपछि अर्को गर्दै शरणार्थी जस्तो बन्नुपर्ने अवस्था आउन पनि सक्छ । अहिले नेपालमा उठाइएको धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको मुद्दा हाम्रो होइन । कांग्रेस, एमाले र माओवादीको पनि होइन । भारतीय कांग्रेस (आई) र अमेरिकी गुप्तचर संस्थाको एजेण्डा हो । उनीहरु साधन–स्रोत जुटाएर यहींका दलाल नेताहरुलाई अघि सारेर नेपाललाई क्रिश्चियनकरण र फ्रि तिब्बतको नारा लिएर यसक्षेत्रमा धावा बोल्न चाहन्छन् । परचक्रीहरुको त्यस्ता खतरनाक रणनीतिलाई यहींका कुचक्रीहरुले अनुमोदन गर्नसक्छन् । त्यसैले देशभक्त सचेत हुनुपर्ने अवस्था छ । तर परिस्थितिवश, भारतमा कांग्रेस (आई) सोनिया गान्धीको क्याथोलिक सत्ता ढलेर हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भजपा)का नरेन्द्र मोदीको सत्ता आएको छ । यसबाट केही न केही नेपाललाई राहत मिलेको छ ।
नेपाल सांस्कृतिक राष्ट्रवादको उद्गम हो । नेपालमा अवस्थित देवी, देवता, मन्दिर, धाम, चाडपर्व, नीतिशास्त्रहरुको बारेमा चर्चा गर्नु सानोतिनो खोज अनुसन्धानबाट सम्भव छैन । कुनै एक विषयको बारेमा लेख्न थालियो भने विभिन्न ग्रन्थहरु तयार हुन्छन् । नेपाल प्राकृतिक र सांस्कृतिक हिसाबमा विश्वको नैं धनी राष्ट्र मानिन्छ । तर यसलाई नेपालका सत्तासीनहरुले दुरुपयोग गर्ने गरेकाले नेपाल अहिले दरिद्र राष्ट्रको कोटीमा पुगेको छ । हामी नेपालीका चाड पर्वहरु यति मौलिक छन् कि कतैबाट नकल गरिएका होइनन् । हाम्रा सांस्कृतिक मान्यताहरुमध्ये दशैं र तिहार त्यत्तिकै मौलिक चाडहरु हुन् । घटस्थापनादेखि नवरात्रसम्म गरिने बडादशैं अर्थात् नवदुर्गा भवानीको पूजा अतिप्राचीन परम्परा र हिन्दूहरुको मौलिक चाड हो । देवीपुराणमा– ‘रामले आश्विन–शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयदशमीको साइतमा लंकामा रावणको विरुद्ध युद्ध गर्न प्रस्थान गरेको’ कुरा उल्लेख छ । पद्मपुराणमा उल्लेख छ– ‘चैत्रशुक्ल चतुर्दशीका दिन रामले रामणको वध गरेका थिए ।’
अनादिकालदेखि नै शक्तिको प्रतीकको रुपमा ‘दशैं’लाई साझा चाडको रुपमा मानी आएको देखिन्छ । अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसीयाली मनाएको विजयादशमीको दिनदेखि शुभदिनको रुपमा मानिँदै आएको हो । असत्यमाथि सत्यको विजयको प्रतीकको चाड हो दशैं । पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाडौं उपत्यका विजयपछि दशैंमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट मगर जातिको पूजारीबाट काठमाडौं ल्याइन्छ । त्यसैलाई बढाइँको रुपमा लिइन्छ । दशैं परम्परागत नेपालीको राष्ट्रिय सांस्कृतिक पर्व हो । घटस्थापनादेखि दशमीका दिनसम्म भ्याएसम्म सबै शक्तिपीठहरुमा सबै जातका नेपालीहरु आराधनाको लागि पुग्ने गर्दछन् । गोर्खाकी गोरखकाली, मनकामना, पाल्पाकी तानसेन भगवती, पूर्वको पाथिभरा, तेह्रथुमको सिंहवाहिनी, धरानकी दन्तकाली, विराटनरगरकी माइस्थान, राजबिराजकी षखडादेवी, धनुषाकी राजदेवी, वीरगञ्जकी माईस्थान, बारामा गढीमाई, मकवानपुकी चुरियादेवी, भुटनदेवी, काभ्रेकी चन्द्रेश्वरी तथा पलाञ्चोक भगवती, दोलखाकी कालिन्चोक भगवती, काठमाडौं उपत्यकाकी गुह्येश्वरी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, मैतीदेवी, शोभा भगवती, संकटा, रक्तकाली, काठमाडौं र भक्तपुरकी इन्द्रायनी, भक्तपुरकी नवदुर्गा, पाटनकी बंगलामुखी, हनुमान् ढोका–तजेलु भवानी, साँखुकी बज्रयोगिनी, पाटनकी बज्रवाराही, डोल्पाकी त्रिपुरासुन्दरी, बाग्लुङ्गकी माइस्थान, नेपालगञ्जकी विन्ध्यवासिनी, डोटीकी शैलेश्वरी, डडेलधुराकी उग्रतारा, कालिकोटकी बडी मालिकादेवीलगायत नेपालभरका अनेकौ शक्तिपीठहरुको आ–आफ्नै महिमा छ ।
स्वदेश विदेशमा रहेका नेपालीहरु सकेसम्म दशैं मनाउन उत्सुकताकासाथ आ–आफ्नो घर फर्कन्छन् । वैदिक हिन्दू सनातन धर्महरुमा सर्वश्रेष्ठ महासागर हो, जहाँ जो जसरी पनि पौडन सक्छ । वैदिक हिन्दू सनातन धर्म पञ्चदेवका उपासक हुन्छन् । ॐ कार जगत नै वैदिक हिन्दू पञ्चदेवका उपासक हुन् । मान्छेलाई संकट परेको बेलामा कुनै न कुनै पाञ्चायन देवी–देवताको सम्झना गरेको हुन्छ । पाञ्चायन देवतामा गणेश, देवी, सूर्य, शिव, विष्णुको पूजा अपरिहार्य हुन्छ । पाञ्चायत देवी–देवताको आराधनाको आ–आफ्नै समय हुन्छ । घटस्थापनादेखि ९ दिनसम्म शक्तिकी प्रतीक भगवतीको आराधना गर्ने समय हो । हामी सबै हिन्दू तथा बौद्धहरु नेपालमा कुनै न कुनै प्रकारले पाञ्चायन देवी देवताको आराधना गर्छौं । दशमीको दिन विजयदशमी भनेर दही अक्षता मिसाएर शुभघडी हेरेर बाजे, बराजु, आमा बाबु अथवा आफूभन्दा बुढापाका गुरुहरुबाट टीका लगाउने प्राचीन संस्कृतिलाई दूषित पार्नु बुद्धिमत्ता होइन । तर नेपालमा २०६३ सालपछि सबै पार्टीका नेताहरुले नेपालको सम्वेदनशीलता बुझ्न नसकेर नेपालको सम्पूर्ण पहिचान, परम्परा, मान्यताहरुमाथि विवाद ल्याएर आफ्नो स्वार्थसिद्ध गर्न विदेशीहरुलाई खुसी पार्ने जुन कुचेष्ठा गरिँदै छm त्यो आत्मघाती काम गरिरहेका छन् ।
दशैंमा पशु बलिको विषयमा धेरैको मतभिन्नता छ । कृष्ण प्रणली, वैष्णव, जैन धर्मावलम्बीहरु पशुबलिलाई अमानवीय विकृति ठान्छन् । डा. गोविन्द टण्डन भन्छन्, ‘विजय दशमीको धार्मिक, सांस्कृतिक एवं दार्शनिक महत्व अति नै छ । नवरात्रभरि शक्तिरुपा देवी दुर्गाको विविध स्वरुपको आरधना गरी काम क्रोध, मोह, मद जस्ता दुर्गुणलाई त्याग्न साधनास्वरुप पशुबलि गर्नु मुख्य पर्व जस्तो बन्न गएकोले खसीबोका पर्वको रुपमा विकसित हुँदै जानु ज्यादै दुःखद छ । धर्मको महत्व, गौरव र शालीनतालाई नै पशुबलि परम्पराले यस्तो मोडमा धकेलेको छ ।’ यसै विषयमा डा. रामचन्द्र गौतम लेख्छन्– ‘हाम्रा धर्मशास्त्रहरुले राजस, तामस या सात्विक पूजाविधि चयन गर्न अधिकार दिएको छ । बलि नदिई पनि पूजा गर्न सकिन्छ, तर बडादशैंमा आराधना गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती स्वरुपिणी दुर्गा भवानीको लागि बलि आवश्यक छ । देवीहरुले बलिबाट शक्ति आर्जन गर्छन् भन्ने भक्तजनहरुले पनि बलि चढाएर शक्ति आर्जन गर्छन् । राज्य शक्तिको लागि पनि बलि अनिवार्य छ । ’
राज्य शक्ति अथवा प्रभुसत्ता या सरकारका लागि बलि अनिवार्य भएकाले राज्यका तर्फबाट प्राचीनकमलदेखि नैं पशुपक्षीहरको वलि दिने व्यवस्था रहँदै आएको छ । यसरी मतभिन्नता पनि प्रारम्भदेखि नै हुँदै आएता पनि दशैंलाई पशुपक्षीको बलि चढाएर मनाउने र बलि नदिएर फूलपाती चढाएर पनि मनाउने गर्ने गरिएको छ । महादशैंमा बलिको सन्दर्भमा पञ्चरत्न पांधुश्रेष्ठ लेख्छन्, ‘बलिप्रथा नगर्ने हो भने कुलाचारीको बदला दुराचारीमा परिणत हुनजानेछ । शक्ति साधना मरुल पर्व मानिएको बडादशैंको पूजा विधि हाम्रो मौलिक परम्परा हो । प्रारम्भिक कालदेखि नै सनातन धर्मको नाममा वेद र तन्त्रको संयुक्त विधिविधान हो यो । पुराणले भनेको छ– मोहले वा अहंकारले दशैं पर्वमा बलि पूजा नगरेमा भगवती रिसाउनु हुन्छ र उसको सर्वनाश हुन्छ ।’ यसरी नेपाली समाजलाई बलि प्रथाले प्रभाव पारेको छ । तर कतिपय क्रिश्चियन प्रभावमा परेका र यसक्षेत्रको सांस्कृतिक अध्ययन नगरेकाहरुले पृथ्वीनारायण शाहले जबर्जस्ती लादेको हो भनेर पाल्छी कुरा गरेर दशैं बारेमा भ्रम खडा गर्न खोजेका छन् । पार्टीगत रंगले पनि दशैंलाई दूषित पार्न खोजिँदै छ । ‘दशैं सम्पन्नहरुले मात्र मनाउनसक्ने पुरातनवादी संस्कृतिको उपज हो’ भन्दै माओवादी नेताले दशैं नमान्ने निर्देशन दिएता पनि दशै बडो हर्षोल्लासले मनाइने काम भएकै हो ।
यता २०६३ सालदेखि दशैं र तिहार जनजातिको चाड होइन भन्दै आफूहरुलाई पृथक् जाति देखाउने केही जनजातिहरुमा होड शुरु भएको छ । दशैंको बहिस्कार विषयमा स्वामी प्रपन्नाचार्य भन्नुहुन्छ– ‘दुर्गा, चण्डी र सुम्निमा तथा युसाहाम एउटै देवीको नाम हो । इष्टदेव महादेव, पार्वतीलाई पारुहाङ तथा सुम्निमाको रुपमा मान्ने गरिएको छ । लिम्बूहरु धावासाम, युमासाम भनेर महादेव र पार्वतीलाई इष्ट देवदेवीको रुपमा मान्दछन् । दशैं धर्म होइन, यो एउटा परम्परागत सांस्कृतिक मान्यता हो । विश्वभरमा बौद्ध र हिन्दूहरु यसलाई आफ्नो मौलिक चाड ठान्छन् । एक अन्तर्वार्तामा दलाई लामाले पनि भनेका थिए (पाञ्चजन्य हिन्दी साप्ताहिकमा सन् १९९२ नोभेम्वर २२)–‘म हिन्दू र बौद्धलाई दाजुभाइ मान्दछु । यी दुवै धर्मका बीच समाधि, योग, तन्त्रजस्ता कुराहरुमा समानता छ, जुन बौद्धहरुले हिन्दूधर्मबाट लिएका हुन् ।’ त्यस्तै, भूटानका तल्कालीन राजा जिग्मे वाङचुक दशैंबारे भनेका थिए –‘म सक्रियताका साथ दशैं पर्वमा भाग लिन्छु । हाम्रो इष्टदेवता महालक्ष्मी हुन् र हामी शिव र विष्णुको पनि पूजा गर्छौं ।’ उक्त कुरा सन् १९९३ जनवरी ७ मा ‘द टाइम्स अफ इण्डिया’ को एक अन्तर्वार्तामा प्रकाशित भएको थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा दशैं नेपालीहरुको महान् चाडको रुपमा परिचित भइसकेको हुँदा यसको अस्तित्वमाथि विवाद उठाउन खोज्नु आत्मघाती खेलबाहेक केही मानिँदैन ।
माओवादी नेता २०६३ सालको दशैंताका प्रचण्डले ‘दशैं सम्पन्नहरुले मात्र मनाउनसक्ने पुरातनवादी संस्कृतिको उपज हो’ भन्दै दशैं नमान्न र बहिस्कार गर्न निर्देशन दिएका थिए, तर स्वदेश–विदेशमा दशैं बडो हर्षोल्लासले मनाइयो । तर, प्रचण्डको कुरा कसैले मान्यता गरेनन् । वास्तवमा युगौंदेखि प्रचलित संस्कृतिलाई बहिस्कारको कुरा गर्नु भनेको समाजबाट एक्लिन खोज्नुसिवाय केही होइन । बहिस्कारका हल्ला जति गरिएता पनि सबै जातिले बुझिसकेको छ कि पृथ्वीनाराण शाहभन्दा शताब्दियौं अगाडिदेखि नै दशैं र तिहार यस क्षेत्रको नै हिन्दू तथा बौद्ध तथा सबै जातिको साझा संस्कृति बनिसकेको यथार्थता । विदेशमा बस्ने गुरुङ, तामाङ, राई, लिम्बू, मगर, थकाली, थारु, जो नेपाली होस् उनीहरुले दशैं नेपालीहरुको मौलिक चाड हो भन्ने कुरा चरितार्थ गरेर देखाएका छन् । वास्तवमा माओवादी नेता प्रचण्ड तथा बाबुराम भट्टराई क्रिश्चियन समर्थक रहेकाले उनीहरु हिन्दू तथा बौद्ध परम्परा दशैं, तिहार, इन्द्रजात्रालाई बिथोल्न चाहन्छन् । सत्य कुरा अब सबैले बुझिसकेको छ । पृथ्वीनाराण शाहभन्दा शताब्दियौं अगाडिदेखि नै दशैं र तिहार यस क्षेत्रको नै हिन्दू तथा बौद्ध तथा सबै जातिको साझा संस्कृति बन्दै आएको सबै जातजातिको साझा चाड हो । यसलाई स्वदेश–विदेशमा बस्ने गुरुङ, तामाङ, राई, लिम्बू, मगर, थकाली, थारु, जो नेपाली होस् उनीहरुले दशैं नेपालीहरुको मौलिक चाड हो भन्ने कुरा चरितार्थ गर्छन्, आत्मसात् गर्छन् । तर कतिपय क्रिश्चियन प्रभावमा परेका र यस क्षेत्रको सांस्कृतिक अध्ययन नगरेकाहरुले पृथ्वीनारायण शाहले जबर्जस्ती लादेको हो भनेर पाल्छी कुरा गरेर दशैंबारेमा भ्रम खडा गर्न खोज्दै छन्, जुन नेपाली जातिको लागि राम्रो होइन ।
हिन्दू र बौद्धबीचको सामञ्जस्यको कारण हो शान्तिक्षेत्र नेपाल जहाँ पशुपतिनाथ र स्वयम्भूनाथबीचको पारस्पारिकताले युगयुगान्तरसम्म सार्वभौम नेपाल बाँचिरहन्छ । पशुपतिनाथमा बुद्धपूर्णिमाका दिन बुद्धको मुकुट पहिराएर पूजा गर्ने गरिन्छ । बौद्धहरु पनि पशुपतिनाथको पूजाआजा गर्दछन् । काठमाडौं उपत्यकामा बौद्धहरु आठओटा शिवलिङ्गलाई अष्टवैतरागको रुपमा पूजा गर्दछन् । स्वयम्भूनाथमा पनि हरेक हिन्दूहरु मञ्जुश्रीलाई सरस्वती मानेर पूजा गर्छन् । गुह्येश्वरीको कुण्डलाई सृष्टिको प्रतीक मानेर शैव र बौद्धले पुज्ने गरेका छन् । मुक्तिनाथको मन्दिरमा लामा र वैष्णव दुवै पद्धतिबाट पूजा गरिन्छ । मुक्तिनाथमा हिन्दूहरु नारायणको रुपमा र बौद्धहरु भगवान् बुद्धको रुपमा मान्दछन् । साँखु बज्रयोगिनीलाई हिन्दू तथा बौद्ध समाजले पूजा गर्छन् । चाँगुनारायणस्थित गरुडलाई बौद्धहरु हरिहरवाहन लोकेश्वर मान्दछन् । बुढानीलकण्ठलाई बौद्धहरु १०८ लोकेश्वरको रुपमा आराधना गर्छन् । बौद्ध बिहारहरुका मूलढोकामा दाँया र बाँया गणेश र महांकालको प्रतिमा खडा गरी पूजा गर्ने गरिन्छ । भने यस्तो धार्मिक सम्मिश्रण भएको समाजमा हामी नेपालीहरुले विश्वभर सांस्कृतिक सामञ्जस्यको अनुपम उदाहरण प्रस्तुत गर्न सकौं । दशैं, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्रि, इन्द्रजात्रा आदि अनेकांै चाडपर्वहरु नेपाली समाजका जीवन हुन् ।
दशैं जस्तै तिहार पनि एक हर्षेाल्लासकासाथ मनाइने चाड हो । असोज वा कार्तिक अर्थात् अक्टुबर महिनामा तिहार बडो हँसिलो मुहार दिन नेपाली हिन्दू जनमानसमा उदाउँछ । पञ्चक शुरु भएपछि तिहारको प्रारम्भ हुन्छ । हिन्दूहरु तिहारको पहिलो दिन कागलाई शुभसमाचार सूचक गर्नका लागि पूजा गर्छन् । दोस्रो दिन घरको रक्षक र यमको दूतको रुपमा कुकुरलाई पूजा गर्छन् । तेस्रो दिन धनधान्यकी स्वरुपको रुपमा लक्ष्मीको पूजा र त्यही दिन गाईतिहारको दिन ‘गौ विश्वश्यः मातर’ गाई विश्वकी आमा हुन् भनेर लक्ष्मीको प्रतीकको रुपमा गाईको पूजा गरिन्छ । तिहारलाई भारततिर दीपावली भन्छन् । लक्ष्मीपूजादेखि तिहारभरि हरेका घरघरमा रमझमका साथ दीपावली गरिन्छ । चौंथो दिन गोवद्र्धन पूजा अर्थात् कृषि उत्पादनका द्योतकको रुपमा गोरुको पूजा हुन्छ । तिहारको गोरुतिहारका दिन नेवार जातिले म्हः पूजा पनि गर्ने हुुनाले तिहारको अर्को विशेषता छ । लक्ष्मीपूजाको दिनदेखि भाइतिहारको रातिसम्म हिन्दूहरु देउसी–भैलो खेल्दै नाँचगान गर्दै विभिन्न कहावत धर्मशास्त्रमा आबद्ध भएका शब्दहरु झिकेर घरघरमा बडो रमाइलोको साथ देउसी खेल्छन् । पाँचौं दिन हिन्दू दिदीबहिनेहरुले आ–आफ्ना दाज्यूभाइलाई यमराजको प्रार्थनासाथ दाजुभाइको दीर्घायुको कामना गर्दै भाइतिहार मनाइन्छ । दशैं र तिहारमा टीका नलगाउने विकृति भारतीय हिन्दूहरुमा आएको छ । इष्ट इण्डिया कम्पनीले भारतमा जबर्जस्ती ईसाइकरण गरेकाले ईसाईहरु टीका लगाउनेहरुप्रति नकारात्मक रहने गरेकाले अर्थात् टीका हिन्दूहरुको पहिचान भएकाले हिन्दूहरुले आफ्नो पहिचान खुल्ने गरेर टीका लगाउन नदिएको कारणले भारत स्वतन्त्र भएपछि पनि त्यही क्रम जारी रहेको हुनसक्छ । तर दार्जिलिङ, डुवर, आसाम, सिक्किम, भुटान आदि नेपाली भाषी रहेको क्षेत्रहरुमा सम्पूर्ण नेपालीहरुले दशैंमा निधारभरि टीका र तिहारमा गोलो वा ठाडो टीका लगाउँछन् । ‘तमसोमा ज्योतिर्गमयः’ अँध्यारोमा उज्यालो रहोस् भन्ने निधारमा टीका लगाएर हिन्दूहरुले आफ्नो पहिचान दिन्छन् ।
नेपालमा ९६ प्रतिशत हिन्दू, बुद्धिष्ट, किरातीहरु ॐकार परिवार छन् । तैपनि यसक्षेत्रमा बसोबास गर्दै आएका मुसलमान र क्रिश्चियनहरु थिचिएर बस्नुपरेको छैन । राजदरबार अगाडि अवस्थित जामे मस्जिद र कास्मिरी मस्जिद आफैँ बोल्छ । हाम्रो मौलिकता हो– सबै पक्षलाई समेट्नु । तर, यस हिन्दू तथा बौद्धभूमिमा धर्म परिवर्तनको हामी सहदैनौं । अनादिवासी र आदिवासीहरुको बीचमा फाटो ल्याएर यो राष्ट्रको निखण्डन गराउन खोज्नेहरु कहिले सफल हुनेछैनन् । देशको आवश्यकता र तथ्यलाई हृदयंगम गर्दै राष्ट्रिय एकताका स्रोतहरुलाई सदृढीकरण गर्दै नेपालका राष्ट्रियताका आधारशीला तथा सांस्कृतिक महत्वका आधारस्तम्भहरु संवैधानिक राजसंस्था र राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नेतृत्वमा हिमवत्खण्डका ५४ भन्दा बढी स–साना हिन्दू राज्यहरुलाई एकीकरण गरिएको समयदेखि स्थापित विश्वको एक मात्र हिन्दू अधिराज्य नेपाललाई बचाएर यो पूण्यभूमिको संरक्षणमा जुट्न हामी सबै देशभक्तहरु सशक्त बन्नुपर्ने बेला आएको छ । Email:[email protected]

(-स्वाभिमान नेपाल मासिकबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here