काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र थाइल्याण्डको थाई च्याम्बर अफ कमर्शका पदाधिकारीबीच भेटवार्ता भएको छ । भेटमा औद्योगिक तथा व्यावसायिक नीतिका बारेमा छलफल भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यम विकास समितिका सभापति कमला श्रेष्ठको नेतृत्वमा बैंकक पुगेका २० जना महिला उद्यमी र अन्य पदाधिकारीको टोलीले थाई च्याम्बरका पदाधिकारीसँग अन्तक्र्रिया गरेका हुन् । कार्यक्रममा समितिकी सभापति कमला श्रेष्ठले राजनीतिक परिवर्तनसँगै अहिले नेपाल विदेशी लगानीकर्ताका लागि सुरक्षित हुँदै गएको जनाइन् । श्रेष्ठले दुई देशबीच सम्बन्ध जति सुमधुर छ, त्यति नै आर्थिक सम्बन्ध बलियो हुन नसकेको भन्दै औद्योगिक व्यापार नीतिमार्फत दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिइन् ।
थाई च्याम्बर अफ कमर्शका उपाध्यक्ष डा. जिन्जाई हान्चान्लासले थाइ अर्थतन्त्र मजबुत हुँदै जानुमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको जनाए । पब्लिक प्राइभेट सहकार्यमार्फत मात्रै औद्योगिक व्यावसायिक क्षेत्र फस्टाउन सक्ने उनको भनाइ थियो । नेपाल र थाई जनताबीच आत्मीय सम्बन्ध रहेको भन्दै उनले ब्यवसायिक सहकार्यका लागि आफूहरू सधैँ सकारात्मक रहेको जनाए । थाई च्याम्बरकी उपाध्यक्ष स्रिना चोकावान्तानाले थाइ महिलाहरू साना तथा मझौला व्यवसायमार्फत आत्मनिर्भर बनेको जनाइन् ।
थाई च्याम्बर अफ कमर्शका डेपुटी सेक्रेटरी सिपी फुडका प्रबन्ध निर्देशक डा. सोम बाटले नेपालमा आफ्नो व्यवसाय प्रवद्र्धन गर्न इच्छुक रहेको जनाए । महासंघको तर्फबाट जय शिवाकोटी, राजकुमार न्यौपाने, मीना श्रेष्ठ, शान्ति उदासलगायतले व्यावसायिक अनुभव र सम्भाव्यताबारे आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा दुई देशबीचको आर्थिक वृद्धि हासिल गर्न एक अर्काे देशसँग के कस्तो व्यवसायमा साझेदार गर्न सकिन्छ भन्ने विषयमा छलफलसमेत गरिएको थियो ।
(- जनधारणा साप्ताहिक)
















