सेनाका जर्नेल जेल चलान

185

काठमाडौं / नेपाली सेनाका एकजना उच्चपदस्थ व्यक्तित्व जेल चलान भएका छन् । कृषि विकास बैंकमा भएको पाँच करोड घोटालामा मुछिएका ती जर्नेल डा.रमेशराज विष्ट हुन् । उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि बहालवाला जर्नेल (सहायक रथी) डा.विष्ट पुर्पक्षका लागि कारागार चलान भएका छन् । सेनाको उच्च ओहदाका बहालवाला अधिकारी पहिलोपटक बैंकिङ कसुरमा कारागार चलान भएको हुँदा नेपाली सेनामा यो विषयले निकै चर्चा पाएको छ । यसअघि सोही मुद्दामा मुख्य आरोपी सहायक टेलर दीपिका रेग्मी अदालतको आदेशले गत माघ २४ मा नख्खु कारागार चलान भएकी थिइन् ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय नीता गौतम दीक्षित र शेखरप्रसाद पौडेलको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि रेग्मीलाई माघ २४ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । सेनाका जर्नेल डा.विष्टलाई पनि नख्खु कारागार नै चलान गरिएको थाहा भएको छ ।
कृषि विकास बैंकको मुख्य कार्यालयबाटै पाँच करोड रूपैयाँ अनियमितता गरेको आरोपमा जर्नेल बिष्टसहित ६ जना कर्मचारी र एकजना ब्यापारी मंसिर १६ पछि विभिन्न मितिमा पक्राउ परेको जनाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तरशाखा कारोबार हिसाब मिलान गर्दा रकम हिनामिना गरेको आरोपमा बैंकका कर्मचारी रेग्मी र उनकी आमासहित १० जनालाई पक्रेर कारवाही थालेको थियो ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here