काठमाडौँ, ३१ भदौ । गत साउन १० गते साथीको घरमा जाँदा बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या सम्बन्धी प्रारम्भिक प्रतिवेदन छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ । हत्याको विस्तृत अध्ययन र छानबिनका लागि गृहमन्त्रालयले गठन गरेको उच्चस्तरिय समितिले शनिबार प्रारम्भीक प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको हो । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएको थियो ।
प्रतिवेदनमा अनुसन्धान कार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट सहित प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी समेतलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाउनुपर्ने बताएको छ ।
पन्त हत्याबारे सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जो कोही संलग्न भए पनि कानूनी दायरामा ल्याई कारवाही गर्न प्रतिबद्ध रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रहसमेत गरेको छ ।
















