निशा तामाङ
देशमा तीन तहको निर्वाचन सम्पन्न भएर पनि नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार बनेको आधा वर्ष पूरा भइसकेको छ । अधिकांश समय शहर र राजधानीमा रहने नेताहरू अहिले भने गाउँगाउँमा पनि विस्तार भएका छन् । गाउँगाउँमा जनप्रतिनिधिहरूको उपस्थिति देखिन थालेको छ । २० वर्षदेखि जनप्रतिनिधिको मुख देख्न नपाएका जनताका लागि आफैबाट निर्वाचित आफ्नै छिमेकी जनप्रतिनिधिहरूबाट आफ्नो र आफ्नो क्षेत्रको लागि विकासका कामहरू हुने आशा गर्नु स्वाभाविक हुन्छ । अरु बेलामा मतदातासमेत नचिन्ने नेताहरूले चुनावकोे समयमा मतदातासमक्ष खुट्टामै ढोगुँलाजस्तो पनि गरेका हुन् । तर जनताले नै मत दिएर विजयी गराएका हुन् भन्ने कुरा जनप्रतिनिधिहरूले सम्झना गर्न समेत सकिरहेका छैनन् भन्ने कुरा जनतामा परिरहेको पाइन्छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि प्रदेश सभाले नयाँ स्वरूप ग्रहण गरेको छ । जनताले गाउँगाउँमा मुख्यमन्त्री र मन्त्रीहरू पाएका छन् । स्थानीय तहका निर्माण र विकासका कामहरूसँगै जनताका आवश्यकताहरू तर्फ निर्वाचित जनप्रतिनिधिहरूको ध्यान पुग्ने आशा जनताले गर्नु स्वाभाविक हो । जनताले निर्वाचन जतिपटक भए पनि देशमा विकास हुन नसकेको गुनासो गर्दै जनप्रतिनिधिहरूसँग असन्तुष्टि व्यक्त गर्दै आएका पनि हुन् तर जनताको असन्तुष्टि तत्कालका लागि बुझ्न प्रयास गरेका भए पनि जनप्रतिनिधिहरूले निर्वाचित भएपछि बिर्सने गरेको गुनासो छोटै समयमा जनताबाट आउन थालिसकेको अवस्था छ । जनताले अब भोट हाल्नुको कुनै अर्थ नभएको गुनासो गर्न थालिसकेका छन् । यसले गर्दा राजनीतिक दल र तिनका नेताहरूप्रति जनताको वितृष्णा बेढिरहेको पुष्टि हुन्छ ।
देशमा दुईपटक संविधानसभाको चुनाव भयो, र संविधान बन्यो पनि । तर पनि संविधान कार्यान्वयन जटिल बन्दै गइरहेको छ । यति लामो समयपछि बनेको संविधानले जनताको भावना समेट्न नसक्नु दुःखद पक्ष हो । यो अवस्थाले राजनीतिक दलहरूको कमजोरीलाई संकेत गर्दछ । देशमा खाली व्यवस्था परिवर्तन गर्ने आन्दोलन भएको र कामभन्दा पनि व्यवस्थाका लागि सधैं लडाईँ गरिरहने नेताहरूको चरित्रका कारण जनता नेताहरूप्रति असन्तुष्ट भइरहेका छन् । जनताले जतिपटक देशमा राजनीतिक परिवर्तनका लागि योगदान पु¥याए पनि राजनीतिक दल र दलहरूका नेताहरूले परिवर्तनलाई आफ्नो स्वार्थको निम्ति बाहेक देश विकास र जनताको सेवामा रूपान्तरित हुन दिएको पाएन । १ सय ४ वर्षको राणा शासन गयो । राणा शासनपछि पञ्चहरूको शासन आयो । ३० वर्ष सम्म पञ्चहरूको शासन भोगेका जनताले पञ्चायतलाई पनि ढालेरै छोडे । पञ्चायत ढलेको पनि २९ वर्ष बितिसकेको छ । तर जनताले झन्पछि झन् कष्टका दिनहरू भोग्नुपर्ने अवस्था देखिन्छ । यसले गर्दा राजनीतिक व्यवस्थाभन्दा सत्तामा पुग्ने व्यक्तिहरूको विवेकमा नै शासन निर्भर हुने पुष्टि हुन्छ । शासक परिवर्तन हुन नसकेका तर व्यवस्था परिवर्तन भइरहेको अवस्थाले देश अगाडि बढ्न सकिरहेको छैन र जनताले पनि परिवर्तनको अनुभूति गर्न पाइरहेका छैनन् । यो स्थितिको अन्त्य हुन तबसम्म सक्ने छैन जबसम्म राजनीतिक दलका नेताहरूमा देश र जनताप्रतिको जिम्मेवारीबोध हुने छैन ।
जनधारणा साप्ताहिक















