कर्नाली प्रदेशको विकासक्रम

139

डा. दीपेन्द्र रोकाया
आफु जन्मेको वा सालनाल गाडेको क्षेत्रको औधी सम्झना हुने रहेछ । जता जाँदापनि कर्नाली देशको सबभन्दा पछि परेको क्षेत्रको रूपमा चर्चा हुने गरेकाले पनि त्यसबारे बहस केन्द्रित गर्न खोजिएको छ । दशैं लाग्न थाल्यो, मान्छेहरू जन्मघरतिर लाग्ने तयारी गर्दैछन्, तर मैले मेरो घर हुम्ला जानुभन्दा कुनै देश घुम्न जाँदा सहज छ भन्नु पर्ने अवस्था छ । अरु देशको भिसा लिएपछि टिकट पाउन सजिलो छ । तर हामी हुम्ली र डोल्पालीलाई मोटर बाटो नपुगेकाले हवाई जहाजको भर पर्नु पर्दछ, त्यो पनि १०० केजीको सामान भएर उड्नलाई हजार ठाउँ गुहार्नु पर्दछ । यसैले कर्नाली प्रदेशको विकासक्रमले ल्याएको चेतना र क्रमभंगताबारे यहाँ छलफल गर्न आवश्यक छ ।

कर्नाली प्रदेशलाई इतिहासमा शैव क्षेत्र र जालन्धर क्षेत्रका रूपमा रहेको पाउँदछौ । कर्नाली नदी माथिको भू–भागमा शैव राज्य र मानसरोवरदेखि तल अझ कर्नाली नदीभन्दा दक्षिणको भू–भागलाई जालान्धर राज्य थियो । शैव राज्य कैलाश तथा हिमालय क्षेत्र हो भने जालन्धर कर्नाली जलाधारमा पर्ने क्षेत्र हो । त्यतिबेला पनि नदीलाई सीमा मानेको र जलाधारका आधारमा राज्य सञ्चालन भएको थियो भन्ने देखिन्छ । नेपालका प्रसिद्ध लेखक मोदनाथ प्रश्रितले हिमवत्खण्डमा भूमिका लेख्दा पुरातात्विक अध्ययनबाट छ करोड बर्ष अघि नेपालको हिमालय क्षेत्रमा टेथिस सागर थियो भनी उल्लेख गरेका छन् । यो भू–भागको उत्तरी र दक्षिणी भाग क्रमसः नजिकिनेक्रम जारी छ । परिणामस्वरूपम यी दुवैतिरको घचेटाईले हिमाल, महाभारत तथा शिवालिक (चुरे) पहाडहरू उठ्दैछन् । यो भूगर्भको कुरा भयो । यसो त यस क्षेत्रलाई केन्द्रमा राखी पूर्व पोखरादेखि पश्चिम देहरादुनसम्मको भू–भागमा विगत ५०० वर्षदेखि ठुलो भूकम्प नगएकाले उच्च जोखिम क्षेत्र मानिएको छ ।

कैलाशको चारतिर सिन्धु, सतलज, बम्ह्रपुत्र र कर्नाली नदी बग्दछन् । यिनले चार वटा सभ्यता निर्माण गरेका छन् । कर्नाली नदीले निर्माण गरेको सभ्यता विभिन्न खालका प्राकृतिक विपति र शासनसत्ताको कुदृष्टिका कारण पुरै छोपिएको छ । यस्तो अवस्थामा कर्नाली सभ्यता निर्माण गर्न जौ र तिलजस्ता अन्न उत्पादन गराउने भूमिका खेलेका महादेव र पार्वतीले विकास गराएको कृषि युगको चर्चा भएको पाइदैन । जो कुरा महादेवका धामी पर्तुदा भन्ने गरेको बिदुवालीबाट थाहा हुन्छ । महाभारत कालमा कृष्णले सम्बासुरलाई पराजित गरेपछि त्यहाँबाट भागेका असुरहरू अहिलेको हुम्ला क्षेत्रमा आएर बसेका थिए । त्यसबखत शैव र जालन्धर राज्यबीच युद्ध भएको र त्यस युद्धमा पराजित भएका हुम्लीहरू भागेर काठमाडौ उपत्यका आई बसेका किरातीहरू हुन् । उनीहरूले काठमाडौमा किरातेश्वर महादेव स्थापना गरेको र लामो समय राज्य समेत गरेका थिए । यो पनि निकै पुरानो कुरा भयो ।

भोट क्षेत्रबाट प्रवेश गरेका नागराजको फौजले जुम्लाको पाल वंशलाई परास्त गरी खस सभ्यता र संस्कृतिको विकास मात्र गराएनन्, उनले खस साम्राज्य पनि बिस्तार गरेका थिए । त्यस शासनले सात पटक त काठमाडौ उपत्यकामा आक्रमण गरेको र जितेको भूगोललाई करादीमा छोड्ने गरेको पाइन्छ । पृथ्वीनारायण शाहभन्दा पहिला यस्तै प्रचलन चलेको पाइन्छ, आक्रमण गर्ने र जितेपछि कर उठाएर फर्कने । सिंजापति राजा नागराजभन्दा पुरानो इतिहास बोकेको विराट दरवार अझै सिञ्जा क्षेत्रमा आझेल छ । यो अवस्थामा हामीलाई यो पछिल्लो गृष्मकालीन राजधानी जुम्ला र सितकालीन राजधानी दुल्लुको पृष्ठभूमि पनि बुझ्न गाह्रो भइरहेजस्तो भइरहेको छ ।

 

उतिबेला शासन सत्ता, व्यापार, व्यवसाय, सभ्यता र संस्कृतिको विकासले गर्दा कर्नाली प्रदेशले आफ्नो परिचय दिन सफल भएको थियो । त्यो तीन कुराले ओरालो लागेको पाइन्छ । एक, वि.सं. १८४६ मा जुम्ला कब्जा गरेका गोर्खालीहरूविरुद्ध कर्नालीवाशीले विद्रोह गरी गमगढी, दार्म, रादेउ, सिमकोट, याल्बाङ र ताक्लाकोटसम्म विद्रोहको मोर्चा कस्नुले काठमाडौका शासकहरू आक्रोशित हुन पुगे । सोही कारण ‘बाह्र बर्ष माथिकालाई साफ गर’ भन्ने नीति लिई विद्रोहीलाई मार्ने र भेटिएका युवा युवतीलाई जम्मा गरी पश्चिमको युद्धमा युद्धबन्दीको रूपमा लिएपनि लडाईमा होमिन बाध्य पारियो । यदि त्यस्तो अवस्था हुन्थेन भने हाम्रा पैकेलाहरूले कुनै न कुनै मोर्चामा नेतृत्वदायी भूमिका खेलेको पाइन्थ्यो होला । त्यो पाइएको छैन । हाम्रो खास इतिहास यसरी ग्याव पारेपछि अर्ति दिने मान्छेको अभावमा गुमेको थियो ।

 

दुई, परम्परागत सामन्तवादी प्रवृत्ति भएका शासकहरूले गोर्खाली अत्याचारबाट बच्न भनेर बाटोमा दिसा गर्न लगाउने संस्कृति विकास गर्नाले हरेक हिसावले कर्नालीलाई एक्लो पार्ने काम ग¥यो । यसरी साढे दुई शताब्दीसम्म कर्नाली शासन सत्ताको मुलधारबाट एक्लियो । यसमा कर्नालीवाशीको नकरात्मक चेतनाका कारण पनि पछि पर्ने अवस्था आयो । तीन, यसैगरी चीनको तीब्र विकासले गर्दा तिबबतमा गरिने परम्परागत व्यापारमा स्तरोन्नती गर्न सकिएन । सोही अनुसार शिक्षा, यातायात र व्यापारमा पछि परेका कारण भोटको भोट्या कहाँ पुग्यो ? अव पुराना दिन सम्झेर यस्तो थियो कर्नाली भन्दै माला गन्ने जमाना गयो ।

 

यसमा काठमाडौस्थित सिंहदरवारले कर्नालीको विशेषता नबुझी विकासका प्याकेज घोषणा गर्ने तर काम नगरेकोमा चित्त दुखाएर काम लाग्ने दिन पनि सकिए । त्यहाँ काम गर्न जाने राष्ट्रसेवकहरू पनि आफुलाई कारवाहीमा पठाएको अनुभव गर्ने हुनाले यहाँको विकास के गरी हुन सक्तथ्यो र ? भनी मन बुझाउने अवस्था पनि सकियो । विकास भन्ने कुरा त एउटा उत्कृष्ट इच्छाशक्ति, प्रतिबद्धतासहितको संकल्प र सकारात्मक प्रचारबाट हुने कुरा हो । जनयुद्ध र जनआन्दोलनपछि संविधानसभाबाट बनेको संघीय संरचनाले गर्दा अब अरुलाई दोष दिएर उमकने जमाना समाप्त भएको छ । यसैले विकासको लक्ष्य किटान गरी अघि बढ्ने बेला आएको छ । अब कर्नाली प्रदेश सरकार, २५ वटा नगरपालिका, ५४ वटा गाउँपालिका र त्यहाँका वडा कार्यालयहरूले कर्नालीको विकास गर्नलाई विगतको इतिहास पढ्नै पर्दछ । वर्तमानमा विज्ञान र प्रविधिको जमाना जान्नै पर्दछ । यसका आधारमा भविश्यको देखाउन सक्नु पर्दछ ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here