काठमाडौं / सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसले दुई पटकसम्म अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले भोलि मंगलबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
सोमबार मध्यान्ह १२ बजे बसेको बैठकमा कांग्रेसले अवरोध गरेपछि सभामुख महराले १५ मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि दिउँसो २: ३५ बजे बसेको अर्को बैठकमा पनि कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएका थिए ।
सभामुख महराले आजको बैठकमा चिकित्सा शिक्षा विधेयकको मात्रै कार्यसूची राखेर बैठक गराउने पटक-पटक भने पनि कांग्रेस सांसदहरु पछि नहटेपछि बैठक भोलीसम्मका लागि सरेको हो ।
यसअघि पहिलो पटक बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेसका संस्थापकहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको योगदान र इतिहास सरकारले मेटाउन खोजेको आरोप लगाएका थिए ।
‘प्रधानमन्त्रीले संसदमा झुठो बोल्न पाइँदैन, गिरिजाप्रसाद कोइरालालाई राज्यले विर्सन मिल्दैन । यो सरकारले गिरिजाप्रसादको नेतृत्वमा भएको सम्पूर्ण परिवर्तनलाई मेटाउन खोजेको छ’, गच्छदारले भने, ‘सार्वभौम संसदको अपमान भएको छ । सुशील कोइराला स्मृति क्यान्सर अस्पताल कुन कारणले अघि बढाउने निर्णय हुन सकेन ? जसको नेतृत्वमा संविधान जारी भयो, उसलाई नै मेटाउन खोजियो ।’


















